नयाँ काम समात्ने उत्साह बढ्नेछ। आम्दानीसँग जोडिएको राम्रो अवसर भेटिन सक्छ। साथीभाइसँगको भेटमा महत्वपूर्ण कुरा उठ्नेछ। थकानलाई बेवास्ता नगर्नुहोस्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।

फूलपाती
विशेष अडियो
सुन्न ट्याप गर्नुहोस्
फूलपातीमा के गरिन्छ ?
आजको दिन केरा, हलेदो, धान, अशोक, बेलपत्र, दारिम, धानको बाला, केराको बोट, जयन्ती र उखुलगायतका लहरा पात अनि विभिन्न प्रकारका फूलपाती मिश्रित ‘फूलपाती’ भित्र्याइन्छ ।फूलपाती भित्र्याउने उत्तम साइत भने बिहान ७ बजेर १७ मिनेट रहेको छ।
गोरखा दरबारमा फूलपाती
नेपाल एकीकरण पश्चात् नै गोर्खाबाट उठाइएको फूलपाती देशका विभिन्न ठाउँहरूमा रहेका महत्त्वपूर्ण शक्ति पीठहरूमा पुर्याउने चलन थियो । नेपाल एकीकरणदेखि नै एकता र सांस्कृतिक प्रतीक गोर्खा जिल्लासँग नेपालीको पहिचान जोडिएको छ । तसर्थ, गोरखाको फूलपाती विशेष हुने गर्दछ । काठमाडौँको हनुमान ढोकाको तलेजु भवानीको मन्दिरमा रहेको दसैँ घरमा पनि गोर्खाबाटै ल्याइएको फूलपाती धादिङ जिल्लाको जीवनपुर हुँदै भित्र्याइने चलन थियो ।
लोकतन्त्र आगमनपछि यो ऐतिहासिक चलनलाई निरन्तरता नदिए पनि थोरै फूलपाती भए पनि मोटरसाइकलमा काठमाडौँसम्म ल्याइने गरिएको स्थानीय बताउँछन् । गोरखा दरबारमा अवस्थित गोरखकाली मन्दिरमा जब आधा घाम अस्ताएको र आधा घाम देखिने समय हुन्छ तब मात्र फूलपाती भित्राउने चलन छ ।

फूलपातीको अघिल्लो दिन नै गोरखकाली दरबारका कर्मचारीहरू सदरमुकाम र अन्य आसपासका जङ्गल र गाउँबाट फूलपाती सङ्कलन गर्न निस्किन्छन् । यसरी सङ्कलन गरी ल्याइएको फूलपाती अघिल्लो दिन नै साँझमा गोरखकाली मन्दिरबाट अलि तल सती पिपल भन्ने पीपल चौतारीमा राख्ने चलन छ ।
उक्त फूलपातीलाई विशेष मौलिक सिँगार पटार गरेर अर्को चौतारीमा ती फूलपातीलाई पर्सिने चलन छ । दरबारबाट आएका विशेष टोलीहरूले बाजागाजा अनि हर्ष बढाई गर्दै कलश यात्रा गरेर फूलपाती दरबार भित्राउने चलन छ ।
यस्तो शोभा यात्रामा प्रमुख जिल्ला अधिकारी लगायतका जिल्लाका मुख्य प्रशासनिक क्षेत्रका प्रमुख अनि सुरक्षा निकायका प्रमुखहरू उपस्थित हुने चलन छ । यसरी गोर्खामा भेला पारिएको फूलपाती काठमाडौँ ल्याएपछि नेपाली सेनाको एक टुकडीले टुँडिखेलमा तोपको सलामी दिने चलन छ ।

दशैं भन्नेबित्तिकै हाम्रो मनमा नयाँ कपडा, टीका-जमरा, पिङ, मासुका परिकार र आफन्तसँगको भेटघाट सम्झना आउँछ। तर दशैं केवल चाडपर्व होइन, वर्षभर व्यस्त जीवनबाट केही दिन टाढा भएर आफ्ना मान्छेसँग समय बिताउने अवसर पनि हो।
लामो समयदेखि घरभन्दा टाढा रहेका मानिसहरू दशैंमा घर फर्किन आतुर हुन्छन्। कोही बसको टिकट खोजिरहेका हुन्छन्, कोही हवाई टिकटको तयारीमा, त कोही मोटरसाइकलमै लामो यात्रा तय गर्ने सोचमा। बाटोको भीड र यात्राको थकान पनि घर पुग्ने खुसीका अगाडि सानो लाग्छ।
दशैं बिदाको सबैभन्दा सुन्दर पक्ष नै यही हो-समय मिलाएर परिवारसँग बस्न पाउनु। सहरको व्यस्त जीवनमा छुटेका कुराकानी फेरि सुरु हुन्छन्। आमाको हातको खाना, बुबासँगको गफ, दाजुभाइ–दिदीबहिनीको रमाइलो र आफन्तको घरमा हुने जमघटले घरलाई फेरि पुरानै रौनकले भरिदिन्छ।
बाल्यकालमा दशैं बिदा भनेको नयाँ लुगा र पिङको उत्साह हुन्थ्यो। अहिले भने दशैं बिदाको अर्थ अलि फरक हुँदै गएको छ। व्यस्तताबीच परिवारका लागि समय निकाल्नु, पुराना सम्बन्धलाई नजिक बनाउनु र केही दिन भए पनि मोबाइल तथा कामको तनावबाट टाढा रहनु नै ठूलो कुरा बन्न थालेको छ।
तर सबैका लागि दशैं बिदा एउटै हुँदैन। कसैका लागि यो घर फर्किने खुसी हो भने कसैका लागि कामकै व्यस्तता। स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, यातायातकर्मी लगायत धेरै मानिस दशैंमा पनि आफ्नो जिम्मेवारीमा खटिरहेका हुन्छन्। उनीहरूकै कारण अरूले आफ्नो परिवारसँग ढुक्क भएर चाड मनाउन पाउँछन्।
त्यसैले दशैं बिदा केवल छुट्टीको सूचीमा परेको केही दिन होइन। यो आफ्ना मान्छे सम्झिने, भेट्ने, सम्बन्धमा न्यानोपन थप्ने र आफैंलाई पनि केही समय दिने अवसर हो।
वर्षभरि समय कहाँ बित्यो भन्ने थाहा नपाइने हामीलाई दशैंले सम्झाउँछ—काम, जिम्मेवारी र दौडधुपभन्दा बाहिर पनि जीवनमा केही अमूल्य क्षणहरू छन्, जुन परिवारसँग बिताउँदा अझ सुन्दर हुन्छन्।
दशैंको बिदा सकिएपछि फेरि उही काम, उही दौडधुप र उही व्यस्तता सुरु हुनेछ। तर परिवारसँग बिताएका ती केही दिनका सम्झना भने लामो समयसम्म मनमा रहिरहनेछन्।


अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस
विशेष अडियो
सुन्न ट्याप गर्नुहोस्
हरेक वर्षको अक्टोबर १७ मा यो दिवस मनाउने चलन छ । गरिबी उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवस मनाउने चलन १७ अक्टोबर १९८७ बाट सुरु भएको हो । त्यस दिन, पेरिसको ट्रोकाडेरोमा एक लाख भन्दा बढी मानिसहरू भेला भएका थिए जुन ठाउँमा सन् १९४८ मा नै मानव अधिकारको विश्वव्यापी घोषणामा हस्ताक्षर गरिएको थियो। चरम गरिबी, हिंसा र भोकमरीको सिकार भएको विश्वमा गरिबी निवारण गर्ने मूलभूत उद्देश्यका साथ यसरी सुरु भएको यस दिवस आज पनि मनाइदैछ ।
विश्व बैङ्कको प्रतिवेदन हेर्ने हो भने पछिल्ला दुई वर्षमा लगभग ९ करोडदेखि १२ करोड मानिस फेरि गरिबीको चपेटामा परेका छन् । यी मानिसहरूमा अधिकांश दक्षिण एसिया र सब–सहाराका देशहरूमध्येका छन् ।
परमाणु शक्ति र हतियारमा अरबौँ डलर खर्च गर्न सक्ने देशहरू आम मानिसका भोक, रोग, बासका समस्या सम्बोधन गर्न चुकेका छन् । त्यस्ता दृश्यले कहिले शक्तिशाली राष्ट्र केवल तुजुकमा रमिरहँदा मानवीय पक्ष हराएको हो कि भन्ने आभास दिलाउँछ ।
२१सौँं शताब्दीको यो पहिलो अर्ध दशक भित्र पनि संसारमा गरिबीले बिदा मागेर गाँस बास र कपासको आधारभूत प्रत्याभूति पनि हुन सक्ने छेकछन्द देखिएको छैन ।हरेक सरकार अनि संसद्को प्रथम प्राथमिकता भनेकै गरिबी उन्मूलन हुनुपर्ने हो । यो गरिबी उन्मूलन निम्ति शान्ति, स्थायित्व र आर्थिक विकासका लागि अत्यन्त महत्त्वपूर्ण तत्त्व हुन् । यो विषयमा नेपाल पनि चुक्दै आएको छ ।
नेपालमा गरिबी
हामीले विश्व बैङ्कको तथ्याङ्क साभार गर्न चाहयौं, सन् २०११ को २५ दशमलव २ प्रतिशत गरिबी रहेको नेपालमा सन् २०१५ सम्म घटेर २१ दशमलव ६ प्रतिशत भएको देखिन्छ । वैदेशिक रोजगारीको विप्रेषण आएको रकममार्फत बढेको आयलाई दीर्घकालीन मान्न अवश्य सकिन्न । देशमै रोजगार अनि सीपको उजागर गर्दै बजार अनि वित्त व्यवस्थापन जरुरी छ । अर्कोतर्फ कृषि कार्यमा क्रान्ति ल्याएर निर्वाहमुखी भन्दा व्यावसायिक कृषि गरिनु जरुरी छ । स्मरण रहोस्, दश वर्षे द्वन्द्व र त्यसपछिका अन्योलले नेपालमा गरिबीको तह बढेको अनि मानिसहरूमा जीवनयापन गर्ने अवसरहरूको कमी देखिएको छ ।
अर्कोतर्फ सरकारी प्रयास स्वरूप गरिबी निवारण कोषमार्फत नेपालभरिका ५९ जिल्लामा ३० हजार सामुदायिक संस्थाहरूमार्फत विभिन्न आय आम्दानीका कार्यक्रम सञ्चालनमा आए । तर त्यसले कतिलाई गरिबीबाट माथि उठायो भन्ने चाहिँ मूल्याङ्कन भएको छैन । अनि गैरसरकारी संस्थाहरू पनि यस स्वरोजगार र सामुदायिक आयआर्जनका मार्गमा लागि परेका छन् ।
गरिब र धनीको अव्यक्त खाल्डो विश्वभरि नै मौन लडाइँका रूपमा छ । यस अर्थतन्त्रमा ज्ञान अनि अवसरको आधारमा अगाडि बढ्न सबैलाई स्वतन्त्रता छ, हैन र ? गरिब र धनीको यो खाडल पुरिँदै जाओस्, समाज अनि समाजका विपन्न समुदायप्रति राज्य अनि हामी सबैको ध्यान हुन जरुरी छ ।आर्थिक विकासविनाको र गरिबीले पिल्सिएको लोकतन्त्र कमजोर हुन्छ । गरिबी उन्मूलन भएको नेपाल र विश्व हामी सबैले यही जुनीमा देख्न पाइयोस् ।
घरमा छाना होस्
मानामा चामलका दाना होस्
कोदो होस् या पीठो होस्
जीवन सबैको मीठो होस्
जय होस्



