मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भन्सार छलीको आशङ्कामा कोरोला नाकाबाट भित्र्याइएका ७७५ ईभी गाडी सशस्त्रको नियन्त्रणमै, तस्बिरहरू

ratopati.com · Fri Jun 05 09:59:40 GMT 2026

पोखरा । मुस्ताङको कोरोला नाकाबाट भन्सार छली गरेर नेपाल भित्र्याइएको आशङ्कामा सशस्त्र प्रहरी बल नेपालले नियन्त्रणमा लिएका ७७५ वटा विद्युतीय सवारीसाधन (ईभी) अझै पनि सुरक्षा नियन्त्रणमै रहेका छन्।

पक्राउ गरिएका ती गाडीहरूलाई नाकादेखि पोखरासम्मका विभिन्न स्थानमा सशस्त्र प्रहरीको कडा निगरानीमा राखिएको छ।

तीमध्ये ९६ वटा विद्युतीय गाडी कास्कीको पोखरा महानगरपालिका वडा नम्बर २५, सुइखेतमा सशस्त्र प्रहरीको प्रत्यक्ष निगरानीमा राखिएका छन् भने बाँकी गाडीहरू अन्य सुरक्षित स्थानमा राखिएका छन्। सशस्त्र प्रहरी बलको विशेष टोलीले गत जेठ २८ गते मुस्ताङको जोमसोम, पर्वतको कुस्मा र कास्कीको हेम्जालगायतका विभिन्न क्षेत्रबाट यी गाडीहरू एकसाथ नियन्त्रणमा लिएको थियो।

कोरोला नाका हुँदै ठुलो परिमाणमा भन्सार प्रक्रिया छलेर विद्युतीय गाडीहरू नेपाल भित्र्याइएको विशेष सूचना पाएपछि सशस्त्र प्रहरीले संयुक्त अपरेसन सञ्चालन गरेको थियो। उक्त ठुलो अप्रेसनका लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर ३३ गुल्म मुस्ताङ, म्याग्दी गुल्म, नम्बर २५ चण्डिका गण पर्वत तथा नम्बर २४ कालिका गण कास्कीबाट विशेष टोलीहरू परिचालन गरिएको थियो।

यति ठुलो परिमाणमा गाडीहरू नियन्त्रणमा लिइएपछि सरकारले यस घटनाको वास्तविकता पत्ता लगाउन छानबिन समिति गठन गरेको छ। नियन्त्रणमा रहेका गाडीहरू वैधानिक रूपमा आयात गरिएका हुन् वा भन्सार प्रक्रिया छलेर भित्र्याइएका हुन् भन्ने विषयमा समितिले विस्तृत अनुसन्धान अघि बढाएको छ। छानबिनको अन्तिम प्रतिवेदन नआएसम्म सबै गाडीहरू सशस्त्रकै निगरानीमा रहने छन्।

तस्बिर: अर्जुन गाहा / नेपाल फोटो लाइब्रेरी

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)

सम्बन्धित विषय