मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विद्यालयमा ‘कप्तान’ र ‘उप–कप्तान’ छनोटका लागि निर्वाचन

gorkhapatraonline.com · Sat May 23 01:53:58 GMT 2026

गुल्मीको एक सामुदायिक विद्यालयमा संसदीय निर्वाचनलाई झल्को दिने गरी विद्यार्थी नेतृत्व छनोट गर्न लागि मतदान गरिएको छ। यस जिल्लाको रेसङ्गा नगरपालिका वडा नम्बर ४, अर्खलेस्थित बुद्ध माध्यमिक विद्यालयमा ‘कप्तान’ र ‘उप–कप्तान’ छनोट गर्न मतदान गरिएको विद्यालयका प्रधानाध्यापक एवम् प्रमुख निर्वाचन अधिकृत गणेश बहादुर अधिकारीले जानकारी दिनभयो।

प्रमुख निर्वाचन अधिकृत अधिकारीका अनुसार विद्यार्थीहरुकाबिच सहमति नजुटेपछि यस विद्यालयमा पहिलो पटक निर्वाचन प्रक्रियबाट ‘कप्तान’ र ‘उप–कप्तान’ छनोट गरिएको हो। कप्तानका लागि दुई जना र उपकप्तानका लागि तीन जना विद्यार्थी उम्मेदवार बन्नुभएको हो। कप्तानका लागि कक्षा १० का सुदीप पाण्डे र कक्षा ९ की सृष्टि विक उम्मेदवार बन्नुभएको हो। उपकप्तानका लागि कक्षा ९ का प्रज्वल भण्डारी, कृशा गौतम र र कक्षा १० की सृजना नेपाली उम्मेवार बन्नुभएको हो।

विद्यालयमा भएको मतदानबाट कप्तानमा टाइ चुनाव चिन्हका सुदीपले ५८ मत र उपकप्तानमा बेल्ट चुनाव चिन्हका प्रज्वलले ६० मत प्राप्त गरेर विजयी हुनुभएको उहाँले जानकारी दिनुभयो। कप्तानमा बोउ चुनाव चिन्हका उम्मेदवार सृष्टिले २४ मत प्राप्त गर्नुभयो। यस पदमा बदर मत शून्य रहेको थियो। त्यसैगरी उपकप्तानमा गितार चुनाव चिन्हका सृजनाले १८ मत र झोला चुनाव चिन्हका कृशाले तीन मत प्राप्त गर्नुभयो। यस पदमा एक मत बदर भएको प्रमुख निर्वाचन अधिकृत अधिकारीले बताउनुभयो।

विद्यालयले संसदीय चुनावको अभ्याससहित सबै निर्वाचन प्रक्रिया पूरा गरी मतदानबाट विद्यालय कप्तान र उपकप्तान छनोट गरिएको हो। कप्तान र उपकप्तान पदमा उम्मेदवारी खुला गरिएको थियो। निर्धारित समय सीमाभित्र उहाँहरुले मनोनयन दर्ता गराउनुभएको थियो। कप्तान र उपकप्तान चुन्ने प्रक्रियामा विद्यार्थीहरूलाई नमुना मतपत्र बनाएर मतदान गर्ने तरिका सिकाइएको थियो।

विद्यालयका कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरूलाई मतदान गर्न पाउने व्यवस्थासहित मतदाता नामावली प्रकाशन, प्रतिस्पर्धीहरूलाई चुनाव चिन्ह प्रदान गरिएको थियो। प्रतिस्पर्धी विद्यार्थीहरूले आफ्नो योजनासहित विद्यालयमा रहेका विद्यार्थीहरूलाई मत समेत माग्नुभएको थियो। शुक्रबार विद्यालयमा रहेको मतदान केन्द्रबाट दुई छुट्टाछुट्टै मतपत्रमा कप्तान र उपकप्तान पदका लागि मतदान गराइएको थियो। दुवै पदमा निर्वाचितलाई सोमबार सपथ ग्रहणसँगै ब्याच प्रदान गरिनेछ।

नवनिर्वाचित कप्तान र उपकप्तानले विद्यालयमा हुने हरेक क्रियाकलापलाई व्यवस्थित गर्न विद्यालय प्रशासन र व्यवस्थापन समितिसँग आवश्यक पहल र समन्वय गर्नुका साथै विद्यार्थीका समस्याबारे विद्यालयलाई ध्यानाकर्षण गराउने छन्। निर्वाचनमा कुल ८६ मतदाता रहेकोमा ८२ मत खसेको मतदान अधिकृत अम्बिका श्रेष्ठले जानकारी दिनुभयो। उहाँका अनुसार निर्वाचन कार्यक्रम विद्यालय निर्वाचन समितिको संयोजनमा शान्तिपूर्ण, मर्यादित तथा व्यवस्थित रूपमा सम्पन्न भएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)