मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पूर्वराष्ट्रपति भण्डारीको सवालमा १० महिनामै ओलीको रहस्यमय ‘यु–टर्न’

ratopati.com · Sat May 23 02:45:00 GMT 2026

काठमाडौँ । जेनजी आन्दोलनको मर्म र भावनालाई चुनौती दिँदै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ पार्टी राजनीतिमा सक्रिय भएका छन् ।

देशकै सर्वोच्च पद राष्ट्राध्यक्षको भूमिका निर्वाह गरिसकेकी पूर्वराष्ट्रपति भण्डारी गत वर्ष असार १४ गते मदन भण्डारी जयन्तीको अवसर पारेर नेकपा एमालेको सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी थिइन् । तर अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावमा केन्द्रीय समितिले भण्डारीको सदस्यता नवीकरण ‘पेन्डिङ’ राख्ने निर्णयसँगै सक्रिय राजनीतिमा आउने ढोका बन्द भएको थियो ।

ओली निवास गुन्डुमा बसेको सचिवालय बैठकले भण्डारीको दश महिना होल्डमा रहेको सदस्यता नवीकरण गर्ने निर्णय गर्‍यो । यद्यपि पार्टीमा भण्डारीलाई कुन पद दिने भन्ने विषयमा एमालेले निर्णय गरेको छैन ।

गत वर्ष साउनमा बसेको एमालेको केन्द्रीय समिति बैठकले भण्डारीको सदस्यता नवीकरण नगर्ने निर्णय गरेको थियो ।

जेनजी आन्दोलनको निशानामा पर्नु, प्रतिनिधि सभा निर्वाचनमा पार्टी नराम्ररी पराजित हुनु र पार्टीभित्र नेतृत्व परिवर्तनका लागि आवाज उठ्नुजस्ता कारण एमाले अध्यक्ष ओली अहिले रक्षात्मक अवस्थामा पुगेका छन् । यसअघि आफ्नै निर्देशनमा भण्डारीको सदस्यता नवीकरण रोकेका उनले अहिले रहस्यमय ढंगले ‘यु–टर्न’ लिँदै भण्डारीको सदस्यता नवीकरणको बाटो खोलेका छन् ।

आन्तरिक र बाह्य रूपमा रक्षात्मक अवस्थामा पुगेका ओलीले भण्डारी ‘कार्ड’ प्रयोग गरी शक्ति सन्तुलन आफ्नो पक्षमा राख्न खोजेको देखिन्छ । एमालेका पूर्वअध्यक्ष रहेकी भण्डारी राष्ट्रपति बन्नुअघि पटक पटक मन्त्री बनेकी थिइन् । २०७२ सालमा संविधान जारी भएपछि कात्तिक ११ देखि २०७९ फागुन २९ सम्म उनी राष्ट्रपति थिइन् ।

यता पूर्वउपराष्ट्रपति पासाङ २०८१ मंसिर २० गतेदेखि नै साविक नेकपा माओवादी केन्द्र (हाल नेपाली कम्युनिस्ट पार्टी)मा सक्रिय छन् । माओवादी १० वर्षे सशस्त्र आन्दोलनका बेला पूर्वजनमुक्ति सेनाका डेपुटी कमाण्डर रहेका उनलाई संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्तावमा उपाध्यक्ष बनाइएको थियो ।

अहिले पासाङ नेकपाका केन्द्रीय संयोजन समितिका सदस्य छन् । भण्डारी राष्ट्रपति हुँदा पासाङ उपराष्ट्रपति थिए ।

२०७४ सालमा वामपन्थीले दुई तिहाइ नजिक मत ल्याउँदा भण्डारी र पासाङ पुरानै पदमा दोहोरिएका थिए ।

देशको सर्वोच्च पदमा पुगेका व्यक्तिले पदीय मर्यादा बिर्सेर सक्रिय राजनीतिमा फर्किन नहुने धेरैले सुझाव दिएका थिए । पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति फेरि राजनीतिमा सक्रिय भएकोमा एमाले र साविक माओवादी केन्द्रभित्र विरोध भएको थियो ।

एमालेका एक नेताले त भण्डारीको सदस्यता पहिले किन रोकेको र अहिले किन खुला गरेको भनेर प्रश्न गरे ।

विश्वका अन्य देशहरूमा कार्यकारी राष्ट्रपति भएका बाहेक आलङ्कारिक राष्ट्रप्रमुखहरू फेरि सक्रिय राजनीतिमा फर्किका देखिँदैनन् । उनीहरू पदावधि सकिएपछि सम्मानजनक जीवन यापन गर्दै सामाजिक कार्य लागेका भेटिन्छन् । पूर्वराष्ट्रप्रमुख वा उपप्रमुख सक्रिय राजनीतिमा लाग्न हुने वा नहुने विषयमा नेपालको संविधान मौन देखिन्छ ।

‘गत वर्ष केपी ओलीले नै होइन सदस्यता नवीकरण रोकेको ? १० महिनासम्म किन रोकेको ? अहिले किन खुला गरियो ? ओलीकै कारण देश र पार्टीले ठुलो क्षति व्यहोर्‍यो । त्यतिबेला विद्याको सदस्यता नवीकरण गरिदिएको भए पार्टीलाई यति धेरै क्षति पुग्दैनथ्यो होला’, रातोपाटीसँग ती नेताले भने ।

जेनजी आन्दोलनअघि फेरि पार्टी अध्यक्ष र प्रधानमन्त्री बन्नका लागि बाधा पर्ने देखेर ओलीले भण्डारीको सदस्यता नवीकरण रोकेको आरोप लगाउँदै ती नेताले अहिले आफू अप्ठ्यारोमा परेपछि भण्डारीको सदस्यता नवीकरण गरेको जिकिर गरे ।

विश्वका अन्य देशहरूमा कार्यकारी राष्ट्रपति भएका बाहेक आलङ्कारिक राष्ट्रप्रमुखहरू फेरि सक्रिय राजनीतिमा फर्किका देखिँदैनन् । उनीहरू पदावधि सकिएपछि सम्मानजनक जीवन यापन गर्दै सामाजिक कार्य लागेका भेटिन्छन् । पूर्वराष्ट्रप्रमुख वा उपप्रमुख सक्रिय राजनीतिमा लाग्न हुने वा नहुने विषयमा नेपालको संविधान मौन देखिन्छ ।

संविधान र प्रचलित कानुनमा बाध्यकारी नभए पनि राजनीतिमा सक्रिय हुने वा नहुने भन्ने विषय सम्बन्धित व्यक्ति विशेषको नैतिकतामा भर पर्दछ ।

नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरे पूर्वराष्ट्रप्रमुख पार्टी राजनीतिमा फर्किनु उचित नभएको बताउँछन् । यस विषयमा कांग्रेस पहिलेदेखि नै प्रस्ट रहेको उनको भनाइ छ ।

‘पहिलो कुरा सम्मानित पदमा पुगिसकेका मान्छे सामान्यतया फेरि राजनीतिमा आउनु राम्रो भएन । कार्यकारी राष्ट्रपति भएको मुलुकमा बाहेक आलङ्कारिक राष्ट्रपति पदावधि सकिएपछि पनि समाजमा सम्मानित जीवन यापन गरेर बसेका छन्,’ उनले भने, ‘यद्यपि कहाँ जाने ? के गर्ने वा नगर्ने ? सार्वभौम निर्णय गर्ने अधिकार व्यक्तिकै हो । हाम्रो त पहिलेदेखि नै पूर्वराष्ट्र प्रमुख राजनीतिमा आउन हुँदैन भन्ने प्रस्ट दृष्टिकोण छ ।’

कांग्रेसबाट गणतन्त्र नेपालका पहिलो राष्ट्रपति बनेका डा. रामवरण यादव ७ वर्ष समयावधि सकेर २०७२ सालमा बिदा भएका थिए । यादव सक्रिय राजनीतिमा फर्किएनन् । पहिलो उपराष्ट्रपति रहेका परमानन्द झा पनि पदबाट हटेपछि सक्रिय राजनीतिमा सहभागी भएका छैनन् ।

पूर्वमन्त्री तथा एमालेकी नेतृ रामकुमारी झाक्रीले पूर्वराष्ट्र प्रमुख वा उपप्रमुख सक्रिय राजनीतिमा लाग्ने वा नलाग्ने व्यक्ति विशेषको नैतिकताको कुरा भएको बताइन् । कहिले काहीँ पार्टी र देश सङ्कटमा परेको बेला संस्थागत रूपमा निर्णय गरेर सर्वस्वीकार्य नेतृत्व ल्याउन पनि सक्ने उनले बताइन् ।

‘देशकै सम्मानित पदमा पुगिसकेको व्यक्ति सक्रिय राजनीतिमा आउने कुरा आफैँमा जोखिमपूर्ण हुन सक्छ । कहिलेकाहीँ देश र पार्टी सङ्कटमा परेको बेला संस्थागत निर्णय गरेर सर्वस्वीकार्य व्यक्ति ल्याउन पनि सकिन्छ । यद्यपि यस विषयमा व्यक्ति आफैँले लिने निर्णय महत्त्वपूर्ण हुन्छ’, झाक्रीले भनिन् ।

राजनीतिक विश्लेषक शंकर तिवारीले जेनजी उथलपुथलले राजनीतिक दलका नेतृत्वलाई नै असान्दर्भिक ठानेको स्पष्ट पारे । अब पनि परिस्थितिको चापलाई नबुझेर अगाडि बढ्न खोज्नु इतिहास र परम्परा विपरीत हुन्छ’, उनले भने ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)

सम्बन्धित विषय