आरक्षमा जङ्गली हात्तीको त्रास
gorkhapatraonline.com · Sat May 23 04:20:21 GMT 2026

सुनसरीको कोशी गाउँपालिका क्षेत्रमा पर्ने कोशीटप्पु वन्यजन्तु आरक्षमा आएको जङ्गली हात्तीे गाउँ पसेपछि स्थानीय त्रसित बनेका छन् । एक सातायता दैनिक जसो जङ्गली हात्ती गाउँमा देखिन थालेपछि स्थानीय त्रसित भएका हुन् । बर्सेनि कोशीटप्पु वन्यजन्तु आरक्षमा आउने जङ्गली हात्ती गाउँमा पसेर धनजनको क्षति पु¥याउने गरेकाले स्थानीय त्रसित हुने गरेको कोशी गाउँपालिका–३ का वडाध्यक्ष सुलेमान मन्सुरीले बताउनुभयो । मन्सुरीले भन्नुभयो, “कोशी क्षेत्रका नागरिकले दशकौँदेखि अर्ना, हात्ती, बँदेल र जङ्गली जनावरको आतङ्क खेपिरहनु परेका छ । सरकार र सम्बन्धित निकायले हाम्रो समस्या समाधान गर्न ध्यान दिएको छैन ।”
कोशी–१, लौकहीका स्थानीयवासी तथा पत्रकार पवन रौनियारले आरक्षमा आएको जङ्गली हात्तीको त्रासका कारण आसपासका स्थानीय राति राम्ररी सुत्नसमेत नसक्ने गुनासो गर्नुभयो । रौनियारले भन्नुभयो, “हात्तीको आव्रmमणबाट वार्षिक १२/१४ जना मानिस घाइते हुने र अङ्गभङ्ग हुने केहीले ज्यानै गुमाउनु परेको छ । हात्ती आतङ्क नियन्त्रणका लागि स्थानीय प्रदेश र सङ्घीय सरकारले ध्यान दिनु पर्छ ।”
कोशीटप्पु वन्यजन्तु आरक्षका प्रमुख संरक्षण अधिकृत भुनेन्द्रकुमार यादवले हात्तीसारमा पालिएको हात्तीको सुरक्षामा समेत समस्या पार्ने गरी जङ्गली हात्ती आउने गरेको प्रतिव्रिmया दिनुभयो ।
उहाँले आरक्षामा रहेको पोथी हात्तीका खोजीमा जङ्गली हात्ती आउने गरेको बताउनुभयो तर केही महिनादेखि आरक्षमा चार/पाँच वटा नै जङ्गली हात्ती रहेकाले स्थानीय त्रसित भइरहनु परेको बताउनुभयो । ती हात्तीले किसानको बाली नोक्सान गर्ने, आरक्षकै पर्खाल भत्काउने गरेको पनि बताउनुभयो ।
यादवले आरक्षतर्फबाट हात्ती धपाउनका लागि ट्याक्टर र अन्य उपाय गरिएको भए पनि कहिलेकाहीँ आरक्षबाहिर बस्तीतर्फ निस्कने गरेको बताउनुभयो । आरक्षको सप्तरीतर्फ कोशी पश्चिम कमलपुर, भागलपुरमा पनि किसानको बालीमा हात्तीले क्षति गरेको गुनासो बढ्न थालेको छ । केही क्षेत्रमा सोलर फेन्सी जडान गरिएकाले हात्ती आउन कम भएको यादवले बताउनुभयो ।
भारतको आसामबाट नेपाल घुम्न आएका भाले हात्ती (मत्ता हात्ती) कोशीटप्पुमा रहेका पोथी हात्ती (ढोई) सँग रमाउन आउने गरेका छन् । समूह छाडेर भारतबाट नेपाल आएका सबै भाले हात्ती कोशीटप्पुमै रमाएर बस्ने गरेका छन् । कोशीटप्पु वन्यजन्तु आरक्षका अनुसार आरक्षभित्र हाल १२ वटा हात्ती घुमफिर गरिरहेका छन् । पूर्वी नेपालको झापा हुँदै कोशीटप्पु पुग्ने हात्तीको समूह भारतको पश्चिम बङ्गालबाट आसाम हुँदै नेपाल छिर्ने गर्छन् । त्यस्तै पश्चिम नेपालको शुक्लाफाँटा तथा बर्दिया राष्ट्रिय निकुञ्ज भित्रिने हात्ती भारतको राजाजी नेसनल पार्क र कोरबोट नेसनल पार्क उत्तराखण्डबाट नेपाल भित्रिने गर्छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)