मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

आत्मघाती गोलले ऐतिहासिक जितबाट चुक्यो इजिप्ट, बेल्जियमसँग बराबरी

lokaantar.com

फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'जी' को आफ्नो पहिलो खेलमा इजिप्ट र बेल्जियमले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्।

अमेरिकाको सियाटल स्टेडियममा सोमबार राति सम्पन्न खेलमा इजिप्ट ऐतिहासिक जितको नजिक पुगेर पनि आत्मघाती गोलका कारण बराबरीमा रोकिन पुग्यो।

खेलको सुरुवाती चरणदेखि नै आक्रामक देखिएको इजिप्टले १९औं मिनेटमा अग्रता लिएको थियो। स्टार खेलाडी मोहम्मद सलाहको पासमा मिडफिल्डर इमाम आशुरले २० यार्ड टाढाबाट प्रहार गरेको शक्तिशाली बल बेल्जियमका गोलकिपर थिबाउट कोर्टुवालाई जिल्याउँदै जाली चुमेको थियो।

पहिलो हाफमा १-० को अग्रता बनाएको इजिप्टले बेल्जियममाथि कडा दबाब सिर्जना गरेको थियो।

तर, दोस्रो हाफमा बेल्जियमका प्रशिक्षक रुडी गार्सियाले अनुभवी स्ट्राइकर रोमेलु लुकाकुलाई मैदान प्रवेश गराएपछि खेलको समीकरण फेरियो। खेलको ६६औं मिनेटमा थोमस मुनिएरले दिएको लो-क्रसलाई बचाउने प्रयास गर्दा इजिप्टका डिफेन्डर मोहम्मद हानीले आफ्नै पोस्टमा बल छिराउन पुगे। लुकाकुको दबाबका कारण हानीले गरेको यो आत्मघाती गोल नै बेल्जियमका लागि बराबरीको आधार बन्यो।

इजिप्टका लागि यो खेल ऐतिहासिक जित दर्ता गर्ने सुवर्ण अवसर थियो। सन् १९३४ मा विश्वकपमा डेब्यु गरेयता ९२ वर्षको अवधिमा इजिप्टले हालसम्म विश्वकपमा कुनै पनि खेल जित्न सकेको छैन। खेलको अन्तिम समयतिर कप्तान मोहम्मद सलाहको उत्कृष्ट हेडरलाई बेल्जियमका कोर्टुवाले विफल तुल्याएपछि इजिप्टको जित्ने सपना अधुरै रह्यो। यस्तै बेल्जियमका कप्तान केभिन डे ब्रुएनको फ्रि-किक पनि पोलमा लागेर बाहिरिएको थियो।

अब बेल्जियमले आगामी आइतबार लस एन्जलसमा इरानको सामना गर्नेछ भने इजिप्टले भ्यानकुभरमा न्युजिल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)

सम्बन्धित विषय