मनसुनअघि यस्तो देखियो सूर्यविनायक–साँगा–धुलिखेल सडक खण्ड
onlinekhabar.com · Tue Jun 16 00:46:06 GMT 2026

२ असार, काठमाडौं । सूर्यविनायक–धुलिखेल सडक खण्ड निर्माण सुस्त गतिमा अगाडि बढ्दा आसन्न मनसुनमा समेत सास्ती दोहोरिने देखिएको छ ।
यो सडक खण्डलाई दुई भागमा विभाजन गरी छुट्टाछुट्टै ठेक्का लगाइएको छ । जस अन्तर्गत साँगा–धुलिखेल खण्डको निर्माण तुलनात्मक रुपमा केही बढी भएको छ ।
८ किलोमिटर लामो साँगा–धुलिखेल सडक बिस्तारको ठेक्का २७ मंसिर २०७९ मा लागेको हो । यो आयोजना निर्धारित समयमा नसकिएपछि समय थप गरी काम भइरहेको छ ।
सूर्यविनायक–धुलिखेल सडक आयोजनाका प्रमुख सु.ई. विजय कुमार महतोका अनुसार धुलिखेल–साँगा खण्डमा मनसुन अगाडि कम्तिमा एक वा दुई लेनसम्म भए पनि कालोपत्रे सडकमा गाडी गुडाउने गरी अहिले काम भइरहेको छ । ‘निर्माण कम्पनीलाई हामीले भनेका छौं, वर्षातमा सास्ती हुनु भएन,’ उनले भने, ‘महंगीका बाबजुत अहिले बिटुमिन ल्याएर उनीहरुले कामलाई निरन्तरता दिएका छन् ।’
यस खण्डको शहरी इलाकामा झण्डै डेढ वर्ष काम रोकिएको थियो । पछिल्लो ६/७ महिना यता विवाद समाधान गरी कामलाई गति दिइएको महतोले जानकारी दिए ।
अझै पनि कतै बिजुलीका पोल सार्नुपर्नेसहित साइट क्लियरेन्सका अवरोध बाँकी छन् । यस खण्डको भौतिक प्रगति ७० प्रतिशत बराबर पुगेको छ ।
धुलिखेल–साँगा काठमाडौं छिर्ने एक मुख्य नाका हो । अरनिको राजमार्गमा पर्ने यो सडकमा दैनिक हजारौं सवारी साधनले यात्रा गर्छन् । मनसुन अगाडि कालोपर्ने नहुने हो भने दैनिक हजारौं यात्रुले पुन: सास्ती पाउने देखिन्छ । सो समस्या नहोस् भनेर निर्माण व्यवसायीलाई निरन्तर दबाब आयोजनाले दिइरहेको छ ।
सूर्यविनायक धुलिखेलमध्ये सूर्यविनायक–साँगा खण्डको निर्माण अझै सुस्त छ । आयोजना प्रमुख महतोका अनुसार यस खण्डमा साइट क्लियरेन्समा बढी समस्या थिए । कतै व्यक्तिका घर त कतै अन्य संरचनाले कामको गति कम भएको हो ।
कुल १५.८ किलोमिटर लामो यो सडक खण्डलाई ६ लेन द्रुतमार्गमा बिस्तार गरिँदैछ । यस आयोजनाले काठमाडौं उपत्यकालाई पूर्वी पहाड र तराईका जिल्लासँग जोड्ने काम गर्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)
काठमाडौँ