मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

उरुग्वे र साउदी अरबबिचको भिडन्त बराबरी

nepalviews.com · Tue Jun 16 01:22:02 GMT 2026

काठमाडौँ । अमेरिकामा जारी फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा दक्षिण अमेरिकी पावरहाउस उरुग्वे र एसियाली मुलुक साउदी अरबले बराबरी खेल्दै अङ्क बाँडेका छन्। फ्लोरिडास्थित मियामी रङ्गशालामा मङ्गलवार बिहान सम्पन्न प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेका हुन्।

खेलको सुरुवाती समयदेखि नै बल आफ्नो नियन्त्रणमा राखे पनि उरुग्वेले पहिलो हाफमा गोल गर्ने सुनौलो अवसरहरू गुमाएको थियो। यसैबिच, खेलको ४१औँ मिनेटमा साउदी अरबका अब्दुल्लाह अलाम्रीले उत्कृष्ट गोल गर्दै टोलीलाई अप्रत्याशित अग्रता दिलाए।

१-० ले पछि परेको उरुग्वेले दोस्रो हाफमा साउदीमाथि निकै दबाब बढायो। खेल सकिन १० मिनेट बाँकी छँदा, अर्थात् ८०औँ मिनेटमा उरुग्वेका म्याक्सी अराजोले गोल गर्दै टोलीको संकट टारे र खेललाई १-१ को रोमाञ्चक बराबरीमा ल्याए।

खेल अवधिभर बल पोजिसन र आक्रमणका हिसाबले उरुग्वे निकै अगाडि देखियो। उरुग्वेले साउदीको पोस्टलाई लक्षित गरी ११ पटक 'सट अन टार्गेट' प्रहार गरेको थियो भने साउदी अरबले मात्र ३ पटक मात्र विपक्षीको पोस्टमा निशाना साधेको थियो। साउदीको रक्षापङ्क्ति र गोलकिपरले उत्कृष्ट प्रदर्शन गरेपछि उरुग्वे अङ्क बाँड्न विवश भयो।

यस खेलको नतिजासँगै समूह ‘एच’ मा रहेका चारै टोलीको स्थिति निकै रोचक बनेको छ। यसअघि भएको यही समूहको पहिलो खेलमा स्पेन र केप भर्डेबिच पनि १–१ गोलकै बराबरी भएको थियो। जसका कारण पहिलो चरणको खेल सकिँदा यस समूहका चारै टोलीको समान १-१ अङ्क भएको छ र कसले अघिल्लो चरण यात्रा तय गर्छ भन्ने होड खुला भएको छ।

मङ्गलवार नै खेलिएको अर्को खेलमा बेल्जियम र इजिप्टले पनि १–१ को बराबरी नतिजा निकालेका छन्। आजै हुने तेस्रो खेलमा इरान र न्युजिल्यान्डबिच मैदानमा प्रतिस्पर्धा हुँदैछ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)

सम्बन्धित विषय