वन्यजन्तु चोरी सिकारीमा संलग्न दुई जना हतियारसहित पक्राउ
gorkhapatraonline.com · Tue Jun 16 01:44:59 GMT 2026

वन्यजन्तु चोरी सिकारीमा संलग्न रहेको अभियोगमा चितवन राष्ट्रिय निकुञ्जले अत्याधुनिक बन्दूकसहित दुई जनालाई पक्राउ गरेको छ ।
सुरक्षाकालागि खटिएको नयाँ गोरख गण र निकुञ्ज प्रशासनको संयुक्त गस्तिटोलीले वन्यजन्तु मार्ने तयारी गरि रहेका दुई जनालाई कार्तोस बन्दूकसहित निकुञ्जको पश्चिमी क्षेत्र अन्र्तगत नवलपरासी (ब.सु.पू.) जिल्ला मध्यविन्दु नगरपालिका वडा नं. ३ सेतोपानी ईलाकाबाट पक्राउ गरेको हो ।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा मगरले पक्राउ परेकाहरुको अनुसन्धान भइरहेको बताउनुभयो । “पक्राउ परेकाहरु उपर कानुनी रुपमा म्याद थप गरेर अनुसन्धान गरिरहेका छौँ”, उहाँले गोरखापत्रसँग भन्नुभयो ।
उनिहरुलाई अवैध हातहतियार ओसार पसार तथा त्यसमा राखेर वन्यजन्तुका आखेटोपहारहरु ओसारपसार गरेको अभियोग लगाइएको छ । उनिहरु विगतमा पनि वन्यजन्तु अपराधमा संलग्न व्यक्तिहरु रहेको पाइएको छ ।
अनुसन्धानका क्रममा रहेको जनाउदै पक्राउ पर्ने दुवै जनाको नाम निकुञ्जले सार्वजनिक गरेको छैन । संयुक्त गस्ति टोलीले उनिहरुलाई गत जेठ २३ गते पक्राउ गरेर अनुसन्धान गरि रहेको हो ।
पक्राउ पर्नेहरुबाट निकुञ्जले स्टिगर गार्ड सहितको स्टिगर १ थान, बन्दुकको बट एण्ड वडी १ नाल, भरुवा बन्दुक १ नाल, बन्दूगमा प्रयोग हुने ७.६२ एम एमको चाल वाला पुर्जा सहितको ब्यारोल १ गोटा, बन्दूकमा प्रयोग हुने ७.६२ एम एमको लाईभ राउण्ड १७ गोटा, बन्दूकमा प्रयोग हुने ७.६२ एम एमको खाली खोका १ गोटा, किट जस्तो देखिने जालको गोटी १८ थान, साईकलको हावा भर्ने पम्प १ थान, ७.७ एम एमको राउण्ड राख्नेको लागि प्रयोग गरिएको बाँसको भाडो १ गोटा, गाडीको रवर ट्यूव १ थान, वन्यजन्तुको दाँत जस्तो देखिने सेतो आखेटोपहार सिङ्गो ३ थान, वन्यजन्तुको दाँत सेतो जस्तो देखिने आखेटोपहार टुक्रा ४ थान र पाँच सय रुपियाँका भारु नोट १३६ वटा निकुञ्ज सुरक्षाकर्मीले बरामद गरेको छ ।
यस्तै यातायतको टिकट, फोन नम्वर लेखिएका कागजहरु, ठूला साना डायरी, मोटर साइकलको ब्लूवुक, लाइसेन्स र नगदी रसिदहरु पनि निकुञ्ज सुरक्षाकर्मीले बरामद गरेको छ ।
घटना विवरण अनुसार गणको “ख” गुल्म हेड क्वाटर अमलटारीबाट विशेष इन्टलिजेन्सका आधारमा खटिएको सेनाको टोलीले कोभर्ट अप्रेशसन संञ्चालन गरेको थियो । सो अप्रेशसनका आधारमा शंकास्पद अवस्थामा भेटिएका सेतोपानीकै एक अभियुक्तको घर खानतलासी गर्ने क्रममा उनको घरबाट एकनाल भरुवा वन्दुक तथा विभिन्न आधुनिक हतियारबाट प्रयोग हुने १७ गोटा लाईभ राउण्ड गोली बरामद गरेको बताइन्छ ।
निकुञ्जले कोभर्ट अप्रेशनपछि घर खानतलासी गर्ने क्रममा निकुञ्जका सहायक संरक्षण अधिकृत प्रविण पौडेल र सेनानी कोकिलकुमार प्रजाको कमाण्डमा निकुञ्ज र सेनाले सात सात जनाको टोली परिचालन गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)