रूपन्देही अदालतले पनि फिर्ता लियो रविको सहकारी ठगीसम्बन्धी मुद्दा
himalpress.com · Tue Jun 16 01:47:48 GMT 2026

काठमाडौँ- जिल्ला अदालत रूपन्देहीले सहकारी ठगीसहितको मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दा फिर्ता लिएको छ। दुई गम्भीर प्रकृतिका अपराधसम्बन्धी अभियोगबाट जिल्ला अदालत रुपन्देहीले रास्वपा सभापति लामिछाने लगायतलाई राहत दिएको हो। रूपन्देही जिल्ला अदालतमा चलाइएको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग फिर्ता लिएसँगै रविलाई सबैभन्दा ठूलो राहत भएको छ। यसअघि त्यहीँको अदालको आदेशबाट उनी जेल पुगेका थिए ।
न्यायाधीश रमेशकान्त अधिकारीको इजलासले सहकारी ठगीको मुद्दा यथावत राखी त्यसपछि थपिएका दुई अभियोगहरू फिर्ता लिने आदेश सोमबार दिएको हो। रूपन्देही जिल्ला अदालतको यस आदेशसँगै रवि लगायतका आरपितहरूले सहकारी पीडितहरूको फसेको रकम फिर्ताको सुनिश्चितता गरी मुद्दामा मिलापत्र गर्ने बाटोसमेत अब खुलेको छ।
अदालतले रविसहित यस मुद्दामा तानिएका उनका साझेदार हाल फरार रहेका जीबी राई र जेलमा रहेका कुमार रम्तेल लगायतविरुद्धलाई पनि राहत दिएको छ। उनीहरूविरुद्ध चलेका सहकारी ठगी बाहेकका अरू अभियोग फिर्ता गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन आउँदै गर्दा रविलाई एकपछि अर्को अदालतले राहत दिन थालेका छन् । यसले उनलाई पार्टीको नेतृत्वमा कायम रहँदै राज्यको उच्च तहमा पुग्ने बाटो पनि क्रमश: खोलिदिन थालेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)
न्यायाधीश नीतिज राई