आयातको विकल्प आत्मनिर्भरता
annapurnapost.com · Tue Mar 15 05:45:00 GMT 2022
रूसले युक्रेनमाथि आक्रमण गर्नुलाई मानवीय हिसाबमै पनि नेपालको असहमति र विरोध दुवै रह्यो। कुनै पनि देशको सार्वभौम सत्ताको अतिक्रमणको पक्षधर नेपाल हुन सक्ने कुरै भएन। कुनै पनि देशका जनताको जिउज्यान नजाओस् र कसैलाई मर्का नपरोस् भन्ने सद्भाव र सहानुभूति छँदै छ। अर्काेतिर त्यो युद्धको सीधा असर नेपालीकै जीवनमा पनि परेको छ। नेपालको भान्छामा त्यसले असर पुर्याइसक्यो। भान्छाको साह्रै आधारभूत आवश्यकता भनेको नुनभुटुन हो। भुटुन अर्थात् घिउ/तेल। नुन नभए बरु अलिनो चल्ला तर भुटुन नभई त केही पनि पकाउनै सकिन्न। त्यही भुटुनका लागि पनि हामी परनिर्भर छौं। त्यसमाथि पनि हामीलाई आपूर्ति गरेको भनेको युक्रेनले पनि हो।
धेरै नेपालीले खासै नाम पनि नसुनेको हुन सक्ने देश, खासै सरोकार पनि नराखेको देश युक्रेनबाट नेपालले दैनिक अत्यावश्यक हुने तोरीको तेल आयात गर्दै आएको छ। अझ रोचक त के भने धनियाँसमेत नेपालमा युक्रेनबाट आइरहेको हो। रूस—युक्रेनको तनावले आयात निर्यातको सन्तुलन खल्बलिएको छ। संसारै त्यसको प्रत्यक्ष असर भोगिरहेको छ। पेट्रोलियम पदार्थको भाउ अकासिएको त्यही युद्धले हो। पेट्रोलको भाउ बढ्दा यातायातका साधनको भाडा बढ्ने र ढुवानी लागत महँगो पर्नेलगायत ‘चेन इफेक्ट’ पर्दा महँगी चौतर्फी चुलिएको हो। नेपालमा त तोरीको तेल मात्रै कहाँ हो र ? युक्रेनबाट आयात भइरहेका सामानहरूको सूची निकै लामो छ। रोचकै वस्तु मात्रै तोरीको तेल र धनियाँ (बिउ) हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)