खानेपानीको पर्खाइमा पिल्कोटवासी
gorkhapatraonline.com · Tue Jun 16 03:05:13 GMT 2026

। पानीका मुहानसमेत नभएको सुक्खा पिलकोटका डाँडा क्षेत्रका दर्जनौँ गाउँमा खानेपानीको समस्या छ । अजयमेरु गाउँपालिका–५, देवलदिव्यपुर तत्कालीन (पिल्कोट गर्खा) र वडा नं ६ को राजुलका दर्जनौँ गाउँका हजारौँ स्थानीय खानेपानीका लागि टाढा टाढासम्मका नाउला धाउन बाध्य छन् ।
तर पुराना ऐतिहासिक नाउला पनि पछिल्ला दिनमा सुक्दै जाँदा पानीको जोहो गर्न निकै समस्या हुने गरेको स्थानीय गङ्गादत्त पन्तले बताउनुभयो ।उहाँले भन्नुभयो, “असारमा पानी पर्न थालेपछि मात्र नाउलामा पानी बढ्छ । कात्तिकदेखि असारको सुरुवातसम्म एक ग्रागी पानीका लागि घन्टौँ लाइनमा बस्नुपर्ने बाध्यता छ ।”
देवल बजारमा होटेल सञ्चालन गर्नुभएका सुनील ठकुराठीले बिहान ४ बजेदेखि राति ८ बजेसम्म पानी भर्नुपर्ने बाध्यता रहेको बताउनुभयो । ठेलागाडीमा ग्यालेन भरेर पानीको जोहो गर्दा हातमा ठेला उठेको दुःखेसो उहाँ व्यक्त गर्नुहुन्छ ।
ठकुराठीका अनुसार पिलकोटवासीको एउटै मात्र आशा डागेश्वरी लिफ्ट सिँचाइ तथा खानेपानी योजनाबाट छ । करिब सात वर्षअघि निर्माण सुरु भएको यो योजनाको करिब ७५ प्रतिशत काम पूरा भएको छ । अब केही वर्षभित्रै योजना बनेर पिलकोटवासीले पानी पाउँछन् कि भन्ने आशा मात्र छ । उहाँ आशङ्का व्यक्त गर्दै भन्नुहुन्छ, “तर निकै लामो लिफ्ट भएकाले प्रविधिले साथ दिने नदिनेमा भने अन्योल नै छ ।”
दुई वर्षमा निर्माण पूरा गर्ने गरेर ठेक्का लगाइएको डागेश्वरी खानेपानी तथा सिँचाइ बहुउद्देश्यीय लिफ्ट योजनाका तीन वटा ट्रान्सफर्मर केही दिनअघि मात्रै वडा नम्बर ६ को कार्यालयमा पुगेका छन् तर यसको ४० लाख रुपियाँ भुक्तानी गर्न बाँकी रहेको गाउँपालिकाका प्राविधिक रतन ऐरले जानकारी निुभयो ।
यो योजना निर्माणका लागि राष्ट्रिय योजना आयोग र अजयमेरु गाउँपालिकाको म्याचिङ फन्डमा १४ करोड ६२ लाख रुपियाँको ठेक्का सम्झौता भएर काम सुरु गरिएको थियो । डडेलधुरा र बैतडीको सिमाना खोला सुर्नायागाडबाट पानी तानेर अजयमेरु गाउँपालिका वडा नम्बर ५, ६ मा खानेपानी सिँचाइ पु¥याउने यो योजनाको लक्ष्य छ ।
सुर्नयागाडबाट करिब एक हजार मिटर उचाइको अजयमेरु गाउँपालिका–६, डागेश्वरी मन्दिरमा पानी तान्न २०७६/७७ मा प्रतिष्ठा एमए जेभीसँग ठेक्का सम्झौता भएको थियो । हालसम्म तीन पटक योजनाको म्याद थप गरेर आगामी असारसम्म पु¥याइएको प्राविधिक ऐरले जानकारी दिनुभयो । मुहानमा जग्गा विवाद, निर्माण सामग्री र बजेट अभावले योजना समयमै पूरा हुन नसकेको उहाँको भनाइ छ ।
योजनाको हालसम्म ७५ प्रतिशत काम सम्पन्न भएको जनाएको छ । उहाँले भन्नुभयो, “मुख्य लाइनमा सिमलेस पाइप लगाउनुपर्ने, नेपालमा सिमलेस पाइप उत्पादन नहुँदा अन्तर्राष्ट्रिय बजारबाट खरिद गर्नुपर्ने भएकाले एक वर्ष ढिलो भयो । अहिले मुख्य लाइन बिछ्याइएको छ ।”
उहाँका अनुसार मुख्य पाइप लाइनको लम्बाइ चार हजार दुई मिटरको छ । हालसम्म एउटा चार लाख लिटर पानी अटाउने क्षमताको ट्याङ्की, मुहानमा गार्ड हाउस, स्लोसेन्ड फिल्टर, रफिङ फिल्टर, प्लेन सेटोन्टेसन, थ्री फेज विद्युत् लाइन र तीन वटा ५० घनमिटरका ट्याङ्की निर्माण गरिएको छ । उहाँका अनुसार यस योजनाको मुख्य पाइप छ इन्चको छ । यस पाइपमा एक सेकेन्डमा १६ लिटर पानी खसाल्ने क्षमता छ ।
चालु आर्थिक वर्ष २०८२/८३ का लागि चार करोड ६० लाख रुपियाँ भए पनि पूरै रकम खर्च गर्न नसकिने उहाँले जानकारी दिनुभयो । लिफ्ट योजनाको मुख्य कार्य पम्प खरिद गर्नु बाँकी नै छ । पम्प जडानसँगै अन्य सम्बन्धित काम हुने भएकाले पम्प जाडन गर्न सके ९० प्रतिशत योजनाको काम पूरा हुने उहाँको भनाइ छ ।
वडा नम्बर ५ र ६ का तीन हजार ९१६ जना लाभान्वित हुने गरेर खानेपानी र हजारौँ रोपनी जमिनमा सिँचाइ पु¥याउने गरेर योजना निर्माण थालिएको थियो । सात वर्षसम्म पनि योजना पूरा नहुँदा स्थानीय निराश छन् ।
खानेपानीको चरम अभाव रहेको देवलदिव्यपुर बजारमा स्वास्थ्य चौकी, विद्यालय, प्रहरी चौकी पनि छन् । स्वास्थ्य चौकी इन्चार्ज गणेश ऐडीका अनुसार पानी अभावले सरसफाइमा निकै समस्या हुने गरेको छ ।
वडा नम्बर ४ को पकिन्ना मुहानबाट ल्याएको पानीले दुःखका साथ गुजारा भइरहेको र यो पर्याप्त नभएको उहाँको भनाइ छ । हाल जिम गाउँमा रहेको मगाराउको धाराबाट पानी बोकेर देवलवासीले गुजारा गर्दै आएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)