मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

छोरालाई मृत्युदण्डको सजाय, बुवा पैसा जुटाउँदै

gorkhapatraonline.com · Tue Jun 16 03:12:15 GMT 2026

सुर्खेतको सिम्ता गाउँपालिका–३, कल्टुगाउँका २७ वर्षीय पृथ्वीचन्द ठकुरीलाई दुबईमा साथीको हत्या आरोपमा मृत्युदण्डको सजाय सुनाइएको छ ।

एकैकोठामा बस्ने पाँच साथीमध्ये सङ्खुवासभाका सुमन विश्वकर्माको हत्याको आरोपमा दुबईमा ठकुरीलाई एक महिनाअघि मृत्युदण्डको सजाय सुनाएको हो ।

छोरालाई मृत्युदण्डको सजाय भएको कुरा जेठको पहिलो हप्ता मात्रै सुर्खेतमा रहेको उहाँका परिवारले थाहा पाए । खबर थाहा पाएपछि निम्न वर्गका चन्दको परिवार यतिबेला चिन्तामा डुबेको छ । परिवार ब्लड मनी (मृत्युपूर्ति क्षतिपूर्ति रकम) जुटाउनका लागि भौँतारिएको छ ।

पृथ्वीचन्द ठकुरीका बुवा टेकुचन्द ठकुरी अहिले वीरेन्द्रनगरमा सहयोगी मनकारीहरूको खोजी गर्दै हुन्छ । आफ्नो जायजेथा बेच्नुका साथै खोजी गरी करिब १८/१९ लाख रकम जम्मा गर्नुभएको छ । मृत्युदण्डबाट जोगाउनका लागि दुई लाख तीन हजार दुबई मुद्रा अर्थात् करिब एक करोड नेपाली रुपियाँ आवश्यक पर्छ । उहाँले बाँकी रकम जुटाइदिनका लागि सहयोगी निकायसँग आग्रह गरेको जनाउनुभयो ।

घरको आर्थिक अवस्था कमजोर भएपछि पृथ्वीचन्द ठकुरी रोजगारीका लागि २०७९ माघ ५ गते दुबई पुग्नुभएको थियो ।

परिवारले जानकारी गराए अनुसार सँगै काम गर्ने पाँच जना साथीमध्ये सङ्खुवासभाका सुमन विश्वकर्मासँग अर्को साथीले झगडा गर्दा पृथ्वी छुट्याउन गएको तर साथीले हानेको छुरा लागेर सुमनको मृत्यु भएको थियो ।

प्रहरीले अनुसन्धानका क्रममा दोषी ठहर गर्दै अदालतले गत जेठको पहिलो हप्ता मृत्युदण्ड सजायको फैसला सुनाएको बुवा टेकुले बताउनुभयो ।

मृतक सङ्खुवासभाका सुमन विश्वकर्माका परिवारसँग आग्रह गरेपछि ब्लड मनी बुझाएपछि सजाय माफी गर्ने भनिए अनुसार अहिले पैसा जुटाउन परिवार लागि परेको छ ।

फैसलाको ९० दिनभित्र ब्लड मनी रकम जुटाएर बुझाइसक्नु पर्छ । करिब एक महिना बितिसकेकाले अबको दुई महिनाभित्र झन्डै ८० लाख जुटाउनुपर्ने भएकाले सहयोग गरिदिन हुन बुवा टेकुले सबैसँग आग्रह गर्नुभएको छ ।

मजदुरीका लागि भारतमा काम गर्दै आउनुभएका पृथ्वीका बुवा आफ्नो एक्लो छोराको ज्यान बचाइदिन सबैलाई सहयोगको अपिल गर्नुभएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)