मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आखेटोपहार व्यवस्थापनमा निर्णय कुर्दै निकुञ्ज

gorkhapatraonline.com · Tue Jun 16 03:34:18 GMT 2026

चितवन राष्ट्रिय निकुञ्जले नौ वर्षसम्म वन्यजन्तुका अङ्गप्रत्यङ्ग (आखेटोपहार) व्यवस्थापन नहुँदा चुनौती थपिएको जनाएको छ । भण्डारणको २० वर्षपछि २०७४ साल जेठ ८ गते चितवनको टिकौलीस्थित वनरक्षक तालिम केन्द्र र राष्ट्रिय निकुञ्जको मुख्यालय कसरामा सङ्कलन गरिएका ४८ प्रजातिका वन्यजन्तुका आखेटोपहार जलाएर नष्ट गरिएको थियो ।

त्यसयता आखेटोपहार व्यवस्थापन नहुँदा संरक्षणमा चुनौती थपिएको निकुञ्का प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जामगरले बताउनुभयो । देशभरबाट सङ्कलन भएका आखेटोपहारको केन्द्रीय भण्डारण चितवन राष्ट्रिय निकुञ्ज, कसरामा मात्र गर्न सकिन्छ । नौ वर्षसम्म पनि व्यवस्थापन नहुँदा भण्डारणमा समस्या भएको भन्दै छिटो व्यवस्थापनका लागि अनुमति दिन राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा लिखित जानकारी गराए पनि जवाफ नआएको निकुञ्जका सूचना अधिकारी अविनाथ थापामगरले बताउनुभयो । “लामो समय व्यवस्थापन नहुँदा संवेदनशील आखेटोपहार धुलिया लाग्ने, सड्ने, गल्ने र मक्किएर जाने चुनौती थपिएको छ,” थापाले भन्नुभयो, “आखेटोपहारलाई निरन्तर रेखदेख र अनुगमन तथा सुरक्षा दिने जनशक्ति पनि नभएकाले थप समस्या भोग्नु परेको छ ।”

वन्यजन्तुका अङ्ग निश्चित समयपछि कुहिएर वा मक्किएर जाने भएकाले तिनको संरक्षणमा राज्यलाई अनावश्यक आर्थिक भारसमेत पर्दै गएको बताइन्छ ।

चोरीसिकारी, तस्करीलगायतबाट बरामद भएको एकसिङे गैँडाका खाग, चितुवा, हिउँचितुवा, हात्तीका दारा, पुच्छर, बाघको छाला, नङ्ग्रा, हाब्रे, कस्तुरी, मृगको बिना, भालुको पित्त, सालकको खपटा, अजिङ्गरको छाला, चितुवाको खप्परलगायत प्रजातिका आखेटोपहार संरक्षण गरेर राखिएको निकुञ्जले जनाएको छ ।

यी आखेटोपहार प्राकृतिक रूपमा मृत्यु भएका जङ्गली जनावरबाट सङ्कलन गरिनुका साथै चोरीसिकारी वा अवैध व्यापारका क्रममा जफत गरिएका हुन् । यी अङ्गलाई सिल गरेर भण्डारण गरी राखिने भएकाले कति मात्रामा छन् भन्न नसकिने निकुञ्जको भनाइ छ ।

आखेटोपहार व्यवस्थापनसम्बन्धी कार्यविधि, २०७२ ले नेपालमा प्राकृतिक रूपमा मरेका वा बरामद गरिएका वन्यजन्तुका अङ्गको सङ्कलन, भण्डारण, परीक्षण र विसर्जन गर्ने स्पष्ट प्रक्रिया तोकेको छ । लामो समयसम्म प्रयोगविहीन अवस्थामा रहेका वा कुहिएर काम नलाग्ने अवस्थाका आखेटोपहारलाई वन कार्यालयको जिम्मेवार अधिकारी र सरोकारवालाको उपस्थितिमा जलाएर वा गाडेर वैज्ञानिक तरिकाले नष्ट गर्ने उल्लेख छ । सोही कार्यविधि अनुसार व्यवस्थापनका लागि विभागमा लिखित जानकारी गराएको सूचना अधिकारी थापाले बताउनुभयो ।

यसबारे विभागका वरिष्ठ इकोलोजिस्ट तथा सूचना अधिकारी हरिभद्र आचार्यले व्यवस्थापनको तयारी भइरहेको बताउनुभयो । “व्यवस्थापन नभएको पनि लामो समय भइसकेको छ, यसलाई मन्त्रीपरिषद्बाट निर्णय गराउनु पर्छ । हामी आवश्यक तयारी गरेर प्रस्ताव मन्त्रीपरिषद्मा लैजान्छौँ,” आचार्यले भन्नुभयो । उहाँका अनुसार वन्यजन्तु मार्न प्रोत्साहन पुग्ने भएकाले जनावरका करोडौँ मूल्य पर्ने यस्ता अङ्ग बेच्न भने पाइँदैन । वन्यजन्तुका आखेटोपहारको मूल्य शून्य हुन्छ भन्ने सन्देश दिन आखेटोपहार नष्ट गर्ने गरिएको विभागका सूचना अधिकारी आचार्यले बताउनुभयो । “वन्यजन्तु जिउँदो हुँदा मात्रै उनीहरूका अङ्गको महत्व हुन्छ, अन्यथा हुँदैन भन्ने सन्देश प्रवाह गर्नका भण्डारणमा रहेका अङ्ग जलाउने गरी कार्यविधि बनेको हो,” आचार्यले भन्नुभयो, “यसले वन्यजन्तुको चोरीसिकार शून्य र संरक्षणमा योगदान पु¥याउँछ ।”

वन्यजन्तुका दुर्लभ र महत्वपूर्ण अङ्ग भने संरक्षण गरेर राख्नुपर्ने निकुञ्जले जनाएको छ । प्राकृतिक वा अन्य कारणबाट मृत्यु भएका वन्यजन्तुबाट सङ्कलन गरिएको वा प्रचलित कानुनबमोजिम जफत गरिएको आखेटोपहार नेपाल सरकारले शैक्षिक वा अनुसन्धान गर्ने संस्थालाई शैक्षिक वा अनुसन्धान प्रयोजनका लागि प्रयोग गर्न भने दिन सक्ने व्यवस्था ऐनले गरेको छ । त्यस्तो आखेटोपहारलाई प्राकृतिक विज्ञान सङ्ग्रहालयमा प्रदर्शनीका लागि पनि राख्न सकिन्छ तर संरक्षण गर्न उपयोगी र आवश्यक नदेखिएको आखेटोपहार भने सरकारले नष्ट गर्न सक्ने कानुनी व्यवस्था छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)