मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एसईईमा अनुत्तीर्ण विद्यार्थीको अवस्थाप्रति गम्भीर ध्यान दिन सांसद खुस्बु ओलीको आग्रह

kendrabindu.com · Sat May 23 08:10:23 GMT 2026

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक एवं सांसद खुस्बु ओलीले एसईई परीक्षाको नतिजा र शैक्षिक चुनौतीप्रति गम्भीर ध्यान दिनुपर्ने बताएकी छन् ।

परिवर्तन अभियान नेपालद्वारा तारकेश्वर नगरपालिकाभित्र एसईई उत्तीर्ण विद्यार्थीहरूको सम्मानमा आयोजित कार्यक्रममा बोल्दै उनले यस वर्ष एसईईमा करिब २ लाख ७१ हजार विद्यार्थी उत्तीर्ण हुँदा १ लाख ६७ हजार विद्यार्थी अनुत्तीर्ण भएको उल्लेख गरिन् । उनका अनुसार विशेषगरी मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अनुत्तीर्ण हुने विद्यार्थीको संख्या बढी देखिएको छ ।

उनले सफल विद्यार्थीहरूको मात्र नभई अनुत्तीर्ण विद्यार्थीहरूको अवस्थाप्रति पनि ध्यान दिन आवश्यक रहेको बताउँदै भनिन्, ‘सफलताको मात्र उत्सव मनाउँदा धेरै विद्यार्थी अनुत्तीर्ण भएर बाहिरिइरहेका छन् । ती विद्यार्थीहरूको विषयमा पनि अभियानले विशेष पहल गर्छ भन्ने अपेक्षा राखेको छु । अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन ।’

उनले अनुत्तीर्ण भएका धेरै विद्यार्थी पुरक परीक्षामा समेत सहभागी नहुने अवस्थाप्रति चिन्ता व्यक्त गर्दै यस विषयमा सबै सरोकारवालाले ध्यान दिनुपर्ने आवश्यकता औँल्याइन् ।

सांसद ओलीले शैक्षिक प्रणालीलाई निरन्तरता दिन र कुनै पनि विद्यार्थीलाई शिक्षाको मूल प्रवाहबाट टाढा हुन नदिन सरकार तथा विभिन्न अभियानहरूको भूमिका महत्वपूर्ण हुने बताइन् ।

उनले भनिन्, ‘यति धेरै विद्यार्थीहरु अनुत्तीर्ण भैइराख्नु भएको छ । जो विद्यार्थीहरु अनुत्तीर्ण हुन्छन् तीनिहरुलाई हामी भुल्छौं । यसमा पनि ८० प्रतिशत विद्यार्थीहरु पुरक परिक्षामा पनि जानु हुन्न । त्यसैले यसमा ध्यान दिनुपर्ने हामी सबैको जिम्मेवारी हो । फेल भएका विद्यार्थीहरुलाई पनि कसरी हुन्छ अभियान या सरकार मार्फत हामीले शिक्षाको मूल प्रवाहबाट ब्रेक गर्नुहुँदैन ।’

कार्यक्रममा उनले संसदमा राष्ट्रको पक्षमा निरन्तर आवाज उठाइरहनुपर्ने आवश्यकता पनि रहेको उल्लेख गरिन् ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)