पर्यटकको रोजाइमा म्हाजु भन्ज्याङ
gorkhapatraonline.com · Tue Jun 16 03:43:25 GMT 2026

स्याङ्जाको आँधीखोला गाउँपालिका अन्तर्गत म्हाजु भन्ज्याङ आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । सिरुबारी सामुदायिक घरबास पुग्ने मूल सडक किनारको यो स्थानमा पछिल्लो समय आन्तरिक पर्यटकले भरिभराउ हुने गरेको छ ।
शनिबार र आइतबार दुई दिन बिदा हुँदा यो ठाउँमा पुग्ने आन्तरिक पर्यटकको सङ्ख्या बढेको आँधीखोला गाउँपालिकाका अध्यक्ष विश्वनाथ पौडेलले जानकारी दिनुभयो । आर्थिक वर्ष २०८०/८१ देखि यस ठाउँमा पर्यापर्यटनका माध्यमबाट स्थानीयलाई रोजगारीसँग जोड्ने गरी कार्यक्रम अगाडि सारिएको हो । बिदाका दिनमा झन्डै एक हजारभन्दा बढी पर्यटक सो ठाउँमा आउने गरेको अध्यक्ष पौडेलको भनाइ छ । म्हाजु भन्ज्याङमा पर्यापर्यटन उद्यान, माझकटेरी म्हाजु स्वागतद्वार, झुला, प्रतीक्षालय, म्हाजु भन्ज्याङ पर्यापर्यटन क्षेत्र आदि रहेका छन् । आन्तरिक तथा बाह्य पर्यटकलाई स्थानीय मौलिक स्वाद पस्कनुका साथै स्थानीयस्तरमा उत्पादित वस्तुको बिक्रीका लागि कोसेलीघर पनि निर्माण गरिएको गाउँपालिकाले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)