नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ
clickmandu.com · Sat May 23 08:53:02 GMT 2026

बुटवल। जिल्ला प्रहरी कार्यालय रुपन्देहीले नक्कली नोट छाप्ने कम्प्युटर र प्रिन्टरसहित दुईजनालाई पक्राउ गरेको छ ।
जिल्लाको लुम्बिनी साँस्कृतिक नगरपालिकाबाट नोट छाप्न प्रयोग गरिने कम्प्युटर, प्रिन्टर, कैची तथा केही नक्कली नोटसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको हो ।
पक्राउ पर्नेहरुमा भारत ककरहवा सिद्धार्थनगर नौगढ उत्तर प्रदेश बस्ने अब्दुल गफ्फरको छोरा ३८ वर्षीय अब्दुल हमिद र रुपन्देही लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं ११ मसिना बस्ने २२ वर्षीय बिक्की भन्ने अनिल पासी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार गोप्य सूचनाका आधारमा प्रारम्भिक अनुसन्धानको क्रममा उक्त कार्यमा संलग्न रहेका व्यक्तिहरुको पहिचान एवं खोजतलास गर्ने क्रममा इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरी टोलीले नोट छाप्ने स्थान र छाप्ने सामग्रीसहित उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुबाट सबै नोटहरुमा एउटै नम्बर ङ २५ ०२४९१२ रहेको नक्कली नेपाली पाँच सय दरको नोट ३० थान, नेपाली रुपियाँ १००, ५०० र १००० दरको प्रिन्ट भई कटिङ्ग नगरेको अवस्थामा रहेका नक्कली नोट सात थान बरामद गरिएको छ ।
यस्तै नक्कली नोट प्रिन्ट गर्न प्रयोग गरेको सिपीयु एक थान, नक्कली नोट प्रिन्ट गर्न प्रयोग गरेको प्रिन्टर एकथान, नक्कली नोट प्रिन्ट गर्न प्रयोग गरेको मोनिटर एकथान, मोबाइल दुई थान र कैची एकथान लगायत कागजहरु बरामद भएको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)
नेपाल प्रहरी