मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

क्वाड बैठकमा सहभागी हुन अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारतमा

nepalviews.com · Sat May 23 08:53:51 GMT 2026

एजेन्सी । अमेरिकी विदेशमन्त्री मार्को रुबियो शनिबार भारत भ्रमणमा पुगेका छन् । चीनसँग भएको शिखर सम्मेलनको एक हप्ता पछि उनी भारत पुगेका हुन् ।

रुबियोले भारतको कोलकाताबाट आफ्नो चार दिने भारत भ्रमण सुरु गरेका छन् । रुबियो शनिबार बिहान कोलकाता पुगेपछि सहरको मध्यभागस्थित मदर हाउस गएका थिए । त्यहाँ उनलाई मिशनरीज अफ च्यारिटीका सिस्टरहरूले स्वागत गरेका थिए । त्यहाँ उनले करिब एक घण्टा समय बिताएका थिए ।

मे २६ सम्म तय गरिएको रुबियोको भारत भ्रमण तालिकामा आग्रा, जयपुर र नयाँदिल्ली पनि समेटिएका छन् । रुबियोले क्वाडका लागि आएका–अष्ट्रेलिया, भारत, जापान र संयुक्त राज्य अमेरिकाका विदेश मन्त्रीहरूको बैठकमा पनि सहभागी हुने जनाइएको छ । चीनले भने लामो समय देखि क्वाड माथि शङ्का गर्दै आएको छ ।

भारतसँग हुने ऊर्जा सम्बन्धी वार्ता तथा ‘क्वाड’ राष्ट्रका मन्त्रीहरूसँग हुने भेटवार्ताका कारण यो भ्रमणलाई कूटनीतिक रूपमा महत्त्वपूर्ण मानिएको छ ।

पर्सियन गल्फ क्षेत्रमा जारी अमेरिकी संलग्नता र त्यसले भारतको ऊर्जा सुरक्षामा पार्न सक्ने प्रभावका बीच भइरहेको रुबियोको भ्रमणलाई विशेष चासोका साथ हेरिएको छ । होर्मुज जलडमरूमध्य बन्द हुँदा भारत उच्च ऊर्जा मूल्यका कारण प्रभावित हुनेबारे सोधिएको प्रश्नमा रुबियोले भारतलाई “महान साझेदार”को संज्ञा दिएका थिए । साथै उनले क्वाड राष्ट्रका मन्त्रीहरूसँग भेटघाट गर्न आफू उत्साहित रहेको बताएका थिए।

यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले गत हप्ता चीनको राजकीय भ्रमण गरेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)

सम्बन्धित विषय