४२ वर्षपछि फरार प्रतिवादीउ
gorkhapatraonline.com · Tue Jun 16 05:02:24 GMT 2026

कर्तव्य ज्यान मुद्दामा फरार एक प्रतिवादीलाई ४२ वर्षपछि जिल्ला प्रहरी कार्यालय गुल्मीले पक्राउ गरेको छ। साविक हरेवा गाउँ पञ्चायत वडा नं. १ बस्ने तेज बहादुर थापा मगरलाई रुपन्देहीको देवदहबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) विरेन्द्र वीर विश्वकर्माले जानकारी दिनुभयो।
प्रहरी नायब उपरीक्षक विश्वकर्माका अनुसार विसं. २०४१ साल भदौ २९ गते साविक हरेवा गाउँ पञ्चायत-१ का जैसरा गलामी र लालमती काला घर्ती मगरको घरमा प्रवेश गरी सुन तथा नगद रकम लुटपाट गरिएको थियो। सो क्रममा धारिलो हतियार प्रहार गरी विभत्स तरिकाले हत्या गरेको घटनामा थापा मगर विरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको थियो। उक्त मुद्दामा सर्वोच्च अदालत काठमाडौंबाट विसं. २०५२ सालमा निजलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएको थियो।
अदालतको फैसलापछि फरार रहि लुकिछिपी बस्दै आएका थापा मगरलाई विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय गुल्मीबाट खटिएको प्रहरी टोलीले यही असार ३१ गते रुपन्देही जिल्ला देवदह नगरपालिका वडा नं. ३ बाट पक्राउ गरेको हो। निजलाई असार १ गते सोमबार नै गुल्मी जिल्ला अदालतमा पेश गरी अदालतको आदेशानुसार जन्मकैदको भुक्तानीका लागि जिल्ला कारागार तम्घास गुल्मीमा पठाइएको उहाँले जानकारी दिनुभयो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)
नेपाल प्रहरी
काठमाडौँ