गर्मीका कारण बाँकेको जनजीवन प्रभावित
gorkhapatraonline.com · Tue Jun 16 05:59:51 GMT 2026

तातो हावा लु, भिषण गर्मीका कारण बाँकेको जनजीवन प्रभावित भएको छ । बढ्दै गएको तापक्रम र शरीर पोल्ने घामका कारण जिल्लाको जनजीवन केही दिन यता प्रभावित बनेको हो ।
भिषण गर्मीका कारण दिउँसो घरबाट बाहिर निस्कनेहरु नेपालगन्जमा घटेका छन् । स्थानीय बजार दिउँसो सुनसान देखिन थालेको छ । विहान र बेलुका मात्रै मानिसहरु बाहिर निस्कने गरेका छन् ।
अत्यधिक गर्मीका कारण घरबाट बाहिर निस्कने वित्तिकै चक्कर लाग्ने गरेको विपीचोक निवासी राजेन्द्र थापाले बताउनुभयो । उहाँले गर्मीले दिनभरि टाउको दुख्ने गरेको जनाउनुभयो ।
असह्य गर्मी तथा चर्को घामले गर्दा बालबालिका विरामी पर्न थालेपछि नेपालगन्ज, कोहलपुर, खजुरा, बैजनाथ र जानकीका सबै विद्यालय एक साता बन्द गरिएका थिए । पालिकाले दिएको विदा समाप्त भएर फेरि बिद्यालय सुचारु भए पनि गर्मी भने ज्युकात्युँ छ ।
गर्मीकै कारण लोड थेग्न नसक्दा विद्युत आपूर्तिसमेत अनियमित हुँदा नेपालगन्ज लगायत आसपास क्षेत्रका नागरिकको जनजीवन थप कष्टकर बनेको नागरिक सरोकार मञ्च बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो ।
उहाँले एकातर्फ अर्कोतर्फ विद्युत वितरणमा समस्याले सर्वसाधारणको जनजीवन कष्टकर बनेको बताउनुभयो । विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रले सकेसम्म विद्युत आपूर्ति नियमित गर्ने प्रयास गरे पनि गर्मीको प्रभावले विद्युतीय उपकरण बिग्रिरहने कारणले थप समस्या निम्तिएको जनाएको छ ।
वितरण केन्द्र नेपालगन्जका प्रमुख संजयकुमार मिश्रले स्थानीय स्तरमा विद्युत नियमित पार्न धेरै काम गरेको जनाउँदै, कहिलेकाँही सिस्टम एवं सर्किट फेल हुने र माथिबाटै सप्लाइ नहुने हुँदा समस्या भएको बताउनुभयो ।
गर्मी बढ्दै गएपछि बजारमा फलफुल, उखुको जुस, चिसो पेय पदार्थको बिक्री बढेको छ । प्रचण्ड गर्मीले गर्दा विभिन्न प्रकारका सरुवा रोगका बिरामीको चाप बढ्दै गएको यहाँस्थित अस्पतालका चिकित्सकहरुले बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)
मौसम