२० निर्माण व्यवसायीलाई कालोसूचीमा राख्ने तयारी, स्पष्टीकरणका लागि ७ दिनको म्याद
aarthiknews.com

काठमाडौं। सार्वजनिक खरिदसम्बन्धी प्रचलित कानुनी व्यवस्था अनुसार २० वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाइएको छ।
सार्वजनिक निकायहरूको सिफारिसका आधारमा कालोसूचीमा समावेश गर्नुपर्ने प्रस्ताव प्राप्त भएपछि सम्बन्धित पक्षलाई यसअघि ३० दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न सूचना जारी गरिएको थियो। तर, निर्धारित समयभित्र कुनै पनि व्यवसायी तथा आपूर्तिकर्ताबाट स्पष्टीकरण प्राप्त नभएको सम्बन्धित निकायले जनाएको छ।
त्यसपछि पुनः सार्वजनिक सूचना जारी गर्दै सम्बन्धित पक्षलाई सूचना प्रकाशित भएको मितिले थप ७ दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न आग्रह गरिएको छ।
सूचनाअनुसार सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १४९ को उपनियम (४) बमोजिम कालोसूची सम्बन्धी कारबाही प्रक्रिया अघि बढाइएको हो। तोकिएको समयसीमाभित्र पनि स्पष्टीकरण नआएमा सम्बन्धित व्यवसायी तथा आपूर्तिकर्तालाई प्रचलित कानुनअनुसार कालोसूचीमा समावेश गर्न सकिने व्यवस्था रहेको छ।
कालोसूचीमा परेपछि ती निर्माण व्यवसायी तथा आपूर्तिकर्ताले निश्चित अवधिसम्म सरकारी निकायका कुनै पनि खरिद तथा ठेक्का प्रक्रियामा सहभागी हुन पाउँदैनन्। सम्बन्धित निकायले समयमै स्पष्टिकरण पेस गर्न सम्बन्धित पक्षलाई पुनः आग्रह गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)
काठमाडौँ