नवीकरण नगरेका औषधि पसलमाथि विभागको कडाइ, दर्ता प्रमाणपत्र स्वतः रद्द
swasthyakhabar.com · Tue Jun 16 06:54:35 GMT 2026

काठमाडौं - औषधि व्यवस्था विभागले तोकिएको अवधिभित्र नवीकरण नगरिएका तथा नवीकरणको म्याद समाप्त भएका औषधि पसलहरूको दर्ता प्रमाणपत्र स्वतः रद्द भएको जनाएको छ।
मंगलबार एक सूचना जारी गर्दै विभागले औषधि ऐन, २०३५ को दफा ११ मा गरिएको संशोधित व्यवस्थाअनुसार औषधि उत्पादन अनुज्ञापत्र, सिफारिसपत्र तथा प्रमाणपत्रको अवधि नवीकरणसम्बन्धी व्यवस्था लागू गरेको जनाएको हो।
विभागका अनुसार ऐनको दफा ११ को उपदफा (५) ले तोकिएको समयसीमाभित्र नवीकरण नगरिएका अनुज्ञापत्र, सिफारिसपत्र तथा प्रमाणपत्र स्वतः रद्द हुने व्यवस्था छ। त्यस्ता प्रमाणपत्रको अवस्थाबारे सम्बन्धित व्यक्ति, संस्था तथा सरोकारवालालाई जानकारी गराउने दायित्वसमेत कानुनले निर्धारण गरेको छ।
सोही कानुनी व्यवस्थाअनुसार विभागबाट जारी भएका औषधि पसल सञ्चालनसम्बन्धी प्रमाणपत्रहरूमध्ये निर्धारित अवधिभित्र नवीकरण नगरिएका तथा नवीकरणको म्याद समाप्त भएका औषधि पसलहरूको दर्ता प्रमाणपत्र अनुसूची–९ बमोजिम स्वतः खारेज भएको विभागले जनाएको छ।
विभागले सम्बन्धित औषधि पसल सञ्चालकहरूलाई आफ्नो प्रमाणपत्रको अवस्था यकिन गरी आवश्यक प्रक्रिया तत्काल पूरा गर्न आग्रह गरेको छ। साथै औषधि बिक्री–वितरण कार्य सञ्चालन गर्दा प्रचलित कानुनी व्यवस्था तथा विभागीय निर्देशनको पूर्ण पालना गर्न पनि अनुरोध गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)
काठमाडौँ