पीडितलाई साढे ४ लाख बुझाएपछि सेफ सन्तोष साह रिहा
ajakoartha.com · Tue Jun 16 07:15:00 GMT 2026

काठमाडौं- ठगी मुद्दामा पक्राउ परेका चर्चित सेफ सन्तोष साह पीडित पक्षलाई साढे चार लाख रुपैयाँ बुझाएपछि रिहा भएका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार साहलाई सोमबार साँझ कानुनी प्रक्रिया पूरा गरी रिहा गरिएको हो। उनले पीडित पक्षलाई चेकबमोजिमको रकम भुक्तानी गरेपछि रिहाइको प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
साहलाई गत शुक्रबार राति जनकपुरबाट पक्राउ गरी काठमाडौं ल्याइएको थियो। गैरीधारास्थित एक रेस्टुरेन्ट कारोबारसँग सम्बन्धित ठगी आरोपमा उनीमाथि अनुसन्धान भइरहेको थियो।
पीडित पक्षका अनुसार रेस्टुरेन्ट खरिद प्रक्रियाका क्रममा साहले खातामा पर्याप्त रकम नभएको चेक दिएको आरोप लागेको थियो। सोही विषयलाई आधार बनाएर २५ लाख रुपैयाँको चेक अनादरसम्बन्धी मुद्दा दायर गरिएको थियो।
उक्त मुद्दामा जिल्ला अदालत काठमाडौंले यसअघि साहलाई दोषी ठहर गर्दै २५ लाख रुपैयाँ बिगो भराउने, एक महिना कैद सजाय र एक लाख २५ हजार रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको थियो।
अदालतको फैसला कार्यान्वयन हुन बाँकी रहेका बेला थप उजुरी परेपछि प्रहरीले पुनः अनुसन्धान अघि बढाएर उनलाई पक्राउ गरेको थियो। पछिल्लो चरणमा पीडितलाई रकम भुक्तानी गरेपछि कानुनी प्रक्रिया अनुसार उनी रिहा भएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)
काठमाडौँ