सम्झौता बिपरीतका इँटा प्रयोग गरेपछि प्रशासनिक भवनको पर्खाल भत्काइयो
barnanmedia.com · Tue Apr 28 22:18:09 GMT 2026

निर्माण कम्पनीले हलेसी तुवाचुङ नगरपालिकाको प्रशासनिक भवनमा सम्झौता बिपरीत कमसल किसिमका इँटा प्रयोग गरेको पाइएपछि निर्माणाधीन भवनको पर्खाल भत्काइएको छ । निर्माण कम्पनी आकाश निर्माण सेवा सिन्धुपाल्चोकले निर्माणाधीन प्रशासनिक भवनमा एक नम्बरको इँटा प्रयोग गर्ने सम्झौता भएपनि दुई नम्बरको प्रयोग गरेको पाइएपछि नगरपालिकाले भवनको पर्खाल भत्काएको हो ।
प्रशासनिक भवन निर्माणको जिम्मा लिएर बढी नाफा कमाउने उद्देश्यले निर्माणाधीन भवनको कोठामा कमसल किसिमको इँटा प्रयोग गरेको पाइएपछि नगर प्रहरी लगाएर मङ्गलबार पर्खाल भत्काइएको नगरप्रमुख विमला राईले जानकारी दिनुभएको छ । “नगरपालिकासँग गरिएको सम्झौतामा एक नम्बरको इँटा प्रयोग गर्ने भनिएको छ । ठेकेदार कम्पनीले पर्खाल निर्माण गर्दा सुरुमा सोहीअनुसारका इँटा लगाएका थिए”, उहाँले भन्नुभयो, “बढी नाफा कमाउने उद्देश्यले बीचमा आएर दुई नम्बरको इँटा प्रयोग गर्न थालेका रहेछन् । कमसल किसिमका इँटा प्रयोग गरेर लगाएको पर्खाल भत्काएर पुनः सम्झौता अनुसारका इँट्टा प्रयोग गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिइएको छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)