बालेन पुगिरहने सांसद खनालको चियादानीले ७५ लाख कर छलेको भन्दै उजुरी
clickmandu.com · Tue Jun 16 07:43:04 GMT 2026

काठमाडौं । प्रधानमन्त्रीका बालेन शाहका सल्लाहकार सुवास शर्मा र रास्वपा सांसद केपी खनालको चिया पसल चियादानीले करिब ७५ लाख रूपैयाँ कर छलेको भन्दै आन्तरिक राजस्व कार्यालयमा उजुरी परेको छ ।
काठमाडौंको शंखमुलमा सञ्चालित ‘चियादानी काठमाडौं’ ले साढे ७ करोडभन्दा बढीको कारोबार लुकाएर करिब ७५ लाख रुपैयाँ कर छली गरेको भन्दै उजुरी परेको हो ।
प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ आइतबार शर्मा र खनालको चियादानीमा पुगेका थिए । त्यसयता सो चिया पसल चर्चामा छ ।
चियादानीका सञ्चालक सुवास शर्मा र केपी खनालले आर्थिक वर्ष २०८१/८२ र २०८२/८३ मा राज्यलाई तिर्नुपर्ने मूल्य अभिवृद्धि कर (मूअक) र आयकर छली गरेको भन्दै आन्तरिक राजस्व कार्यालय, नयाँ बानेश्वरमा उजुरी गरेको हो ।
उजुरीमा कम्पनीले मूल्य अभिवृद्धि कर (भ्याट)मा दर्ता हुने सीमा नाघे तापनि मूल्य अभिवृद्धि करमा दर्ता नगरी कारोबार जारी राखेको उल्लेख छ । वार्षिक करिब ३ करोड ५० लाखभन्दा बढीको कुल बिक्री भएको अनुमान गरिए पनि आन्तरिक राजस्व कार्यालयमा भने वार्षिक ३० लाखभन्दा कम मात्र बिक्री देखाएर कर छली गरेको आरोप उजुरीमा लगाइएको छ ।
चियादानीले विशेषतः गत वैशाखमा पुरानो व्यवसायिक प्यान (११३५६५७८८) लाई व्यक्तिगतमा रूपान्तरण गरी पुनः २०८३ वैशाख २३ गते नयाँ प्यान (१२२४८४१५१) दर्ता गर्नुलाई कर छली गर्ने प्रपञ्चको रूपमा उजुरीकर्ताले व्याख्या गरेका छन् ।
चियादानी नाम दिइए पनि उक्त आउटलेटमा मुख्य बिक्री ‘हुक्का’ को हुने गरेको उजुरीमा उल्लेख छ । दैनिक ६० देखि ११० युनिटसम्म हुक्का बिक्री हुने र प्रति युनिट न्यूनतम ४९० रुपैयाँ लिइने गरिएको तथ्य उजुरीमा उल्लेख छ । हुक्का मात्रै वार्षिक १ करोडभन्दा बढीको बिक्री हुने गरे तापनि लामो समयसम्म अन्तःशुल्कमा दर्ता नभई कारोबार गरिएको दाबी गरिएको छ ।
उजुरीकर्ताले कर प्रशासनलाई कर छली पुष्टि गर्न सातवटा मुख्य क्षेत्रमा अनुसन्धान गर्न सुझाएका छन् । पहिलो हो, फोनपे क्यूआर अनुसन्धान । उजुरीकर्ताले व्यवसायमा प्रयोग भएको टर्मिनल नम्बर २२२२११००२००८३९८१ मार्फत भएको भुक्तानीको विवरणबारे अध्ययन गर्न आन्तरिक कार्यालयलाई सुझाव दिएका छन् । साथै सञ्चालकहरू सुवास शर्मा र केपी खनालको व्यक्तिगत तथा व्यवसायिक बैंक खाताहरूको जाँच र अर्डर लिने सफ्टवेयर र किचन अर्डर टिकट जफत गरी वास्तविक बिक्रीसँग भिडान गर्नुपर्ने भनिएको छ ।
नेपालको कानुनअनुसार वास्तविक बिक्री लुकाउनु, बिजक जारी नगर्नु र अन्तःशुल्क विना सुर्तीजन्य पदार्थको कारोबार गर्नु दण्डनीय अपराध मानिन्छ ।
उजुरीका अनुसार चियादानीले ३५ लाख रुपैयाँ मूल्य अभिवृद्धि कर र ४० लाख रुपैयाँ आयकर गरी कुल ७५ लाख रुपैयाँ राज्यलाई घाटा पुर्याएको अनुमान गरिएको छ । ‘दैनिक कारोबारको ५ प्रतिशत पनि बिल जारी हुँदैन, मागेको खण्डमा मात्र बिल दिने गरिएको छ,’ उजुरीमा भनिएको छ, ‘वार्षिक २ करोड बराबर बिक्री भए तापनि कूल सञ्चालन खर्च ८० लाखभन्दा कम नै रहेको, जसले गर्दा अत्यधिक नाफा देखिने तर मूअ करमा समेत दर्ता नरहेकोले गर्दा वार्षिक ३० लाख बढी बिक्री नदेखाएको भन्ने सहजै अनुमान गर्न सकिन्छ । सो आधारमा करोडौंमा नाफा भएको आधारमा २५ प्रतिशत कर्पोरेट आयकर र व्यक्तिगत रूपमा आम्दानी गरेको भए ३९% सम्मको स्ल्याबमा सहजै प्रवेश गरेको देखिन्छ ।’
यस्तो छ, उजुरीको व्यहोराः
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)
बालेन शाह
काठमाडौँ