मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

संघीयता खारेजका लागि संविधान संशोधन गर्नुपर्छ : चित्रबहादुर केसी

shilapatra.com · Sat May 23 13:06:00 GMT 2026

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संविधानबाट संघीयता हटाउन संविधान संशोधन गर्नुपर्ने बताएका छन् । संविधानलाई गतिशील दस्तावेजको रूपमा परिभाषित गरिए पनि संघीय प्रणालीलाई देशले थेग्नै नसक्ने बताए । राष्ट्रिय जनमोर्चा रुपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको संविधान संशोधनको सन्दर्भमा गणतन्त्र र राष्ट्रियता विषयक अन्तर्क्रियामा बोल्दै अध्यक्ष केसीले भने, ‘राष्ट्रियता, संविधान, गणतन्त्र, धर्मनिरिपेक्षता रक्षा र संघीयता खारेजका लागि संविधान संशोधन गर्नुपर्छ ।’

संघीयताले मुलुकको राष्ट्रियता र अर्थतन्त्रमा गम्भीर संकट ल्याएको जिकिर गर्दै उनले संघीय प्रणालीभित्रको प्रदेश हटाएमा शिक्षा र स्वास्थ्य निःशुल्क गर्न सकिने बताए । अध्यक्ष केसीले संसद, सर्वोच्च अदालतलगायत अन्य थुप्रै प्रतिष्ठानहरू खरानी पारेर सत्तामा पुगेकाहरूले संविधान संशोधनको नाममा निरंकुशता लादेर राजा ल्याउन सक्ने भएकाले गणतन्त्रवादीहरू सचेत हुनुपर्नेमा जोड दिए ।

संविधान संशोधनका मुद्दा पहिचान गर्दा गणतन्त्र र राष्ट्रियताको प्रश्नमा विदेशी हस्तक्षेपबाट मुक्त हुनुपर्ने बताउँदै उनले यो सरकार र संविधान संशोधनका लागि बनेको कार्यदलप्रति भरोसा गर्न नसकिने बताए ।

यस्तै, सरोकारवाला निकायहरूले गणतन्त्र र राष्ट्रियताको विषयमा अस्थिरता ल्याउने खालका संशोधन स्वीकार्य नहुने, संविधानको संस्थागत विकास र समावेशितालाई बलियो बनाउने गरी संशोधन हुनुपर्ने, गणतन्त्रको संस्थागत सुधारलाई प्राथमिकता दिनुपर्नेमा उनले जोड दिए ।

केसीले अमेरिकाले संसद कब्जा गरेर निर्वाचन गराएको दाबी गर्दै यस्तो निर्वाचनबाट बनेको सरकारका कारण राजा आउने सम्भावना रहेको बताए । उनले संसद, अदालत र सेना कब्जा गरेर बनेको सरकारले कुनै पनि हालतमा देशलाई निकास दिन नसक्ने बताए । वर्षाैंदेखि बस्दै आएका भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई डोजर लगाएर हटाउने सरकारको कार्य निरंकुश र जनविरोधी भएको भन्दै अध्यक्ष केसीले सरकारको आलोचना गरे ।

प्रकाशित मिति: शनिबार, जेठ ९, २०८३

१८:५१

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)