नक्कली भूटानी शरणार्थी प्रकरणको फैसला आउँदै
barnanmedia.com · Tue Jun 16 09:01:02 GMT 2026

नक्कली भूटानी शरणार्थी प्रकरणको फैसला आज आउने भएको छ ।
काठमाडौं जिल्ला अदालतमा पाँच दिनदेखि हेर्दाहेर्दैमा रहेको उक्त मुद्दाको सुनुवाइ न्यायाधीश तेजबहादुर खड्काको इजलासमा जारी छ।
नेपाली नागरिकलाई नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका लगायत विभिन्न देशमा पठाइदिने प्रलोभन देखाएर करोडौं रुपैयाँ असुली गरेको आरोपमा दायर यस मुद्दाको अन्तिम सुनुवाइ जेठ २७ गतेदेखि भइरहेको हो।
सरकारी वकिलको कार्यालयले २०८० जेठ १० गते पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, पूर्वसांसद आङटावा शेर्पा तथा तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित ३० जनाविरुद्ध किर्ते, ठगी, संगठित अपराध तथा राज्यविरुद्धको अपराधमा मुद्दा दायर गरेको थियो।
मुद्दा दर्ता हुँदा पक्राउ परेका १८ जनामध्ये दुई जना धरौटीमा र १६ जनालाई थुनामा राखेर पुर्पक्ष गर्न आदेश दिइएको थियो भने १२ जना फरार थिए। पछि केही फरार अभियुक्त पक्राउ परे पनि अझै केही व्यक्ति फरार अवस्थामै रहेको जनाइएको छ।
जिल्ला अदालतका तत्कालीन न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले प्रारम्भिक प्रमाणका आधारमा अभियुक्तहरूलाई कसुरदार देखिने भन्दै थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको थियो। त्यसपछि केही अभियुक्त उच्च अदालतबाट धरौटी वा तारेखमा छुटेका छन् भने केही अझै थुनामै छन्।
यस मुद्दामा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, उनका छोरा सन्दीप रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, पूर्वसंविधानसभा सदस्य आङटावा शेर्पा, प्रतीक थापा, इन्द्रजित राई तथा उनका छोरा निरज राईसहितका व्यक्तिविरुद्ध अभियोग दर्ता भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)
भुटानी शरणार्थी प्रकरण
काठमाडौँ
बेचन झा
छविलाल जोशी
न्यायाधीश नीतिज राई