बजेट सन्तुलित र भविष्य निर्माणमुखी, नाडाले भन्यो - ‘कार्यान्वयन प्रभावकारी हुनुपर्यो’
corporatenepal.com · Fri Jun 05 11:12:22 GMT 2026

काठमाडौं । नाडा अटोमोबाईल्स एशोसिएशन अफ नेपाल (नाडा) ले आर्थिक वर्ष २०८३/०८४ बजेट समग्रमा सन्तुलित र भविष्य निर्माणमुखी देखिएको बताएको छ । नाडाले आज विज्ञप्ति प्रकाशित गरी बजेट केही महत्वाकाँक्षी देखिए पनि यसको कार्यान्वयन प्रभावकारी हुन सके देशको अर्थतन्त्र नै गतिशील हुने समेत बताएको हो ।
यो बजेटबाट सरकारले विद्युतिय सवारी साधनमा लाग्दै आएको अन्तःशुल्क हटाएर स्वच्छ पूर्वाधार लगानी शुल्क लगाउने व्यवस्था गरेको छ । सरकारको वर्तमान कर नीतिले विद्युतिय लगायत इन्धनबाट चल्ने सवारी साधनहरु समेत मूल्य बढ्ने देखिएको नाडाले औंल्याएको छ । नेपाल विश्व व्यापार संगठनको सदस्य भएको दुई दशक भइसकेको र नेपाल कम विकसित राष्ट्रबाट स्तरोन्नति भएर विकाशशील राष्ट्रमा परिणत हुँदै गरेको सन्दर्भमा नाडाले न्यूनतम रूपमा सवारी साधनहरूमा सरकारले थप कर बृद्धि नगर्ने अपेक्षा राख्दै आएको थियो ।
Advertisement
सरकारले मोटर पिक पावरको आधारमा महलशुल दर कायम राख्दै आएकोमा यस बजेटले कारोबार मूल्यको आधारमा महशुल लगाउने व्यवस्था गरेको छ । नाडाले सदैव स्थिर कर नीतिको माग गर्दै आएको र सरकारले पनि खाशगरी विद्युतिय सवारी साधनहरूका सन्दर्भमा प्रवर्द्धनात्मक नीति लिइने बताउँदै आएको थियो । तर, सरकारले अव सवारी साधनहरूलाई मूल्यका आधारमा कर निर्धारण गर्ने र अतिरिक्त शीर्षकहरू मार्फत थप महशुल लगाउने निर्णय गरेको नाडाले बताएको छ ।
जसले गर्दा प्राय: सबै किसिमका सवारी साधनहरूको मूल्य बढ्ने देखिएको नाडाले विज्ञप्तिमा उल्लेख गरेको छ । सवारी साधनहरूको मूल्य स्थिरताको लागि सरकारले नेपाली रुपियाँमा भन्दा डलरका आधारमा कर निर्धारण गर्नु थप व्यावहारिक हुने नाडाले ठम्याएको छ ।
यस बजेटले सभवतः नेपालको इतिहासमा झण्डै ३ खर्व रुपियाँ सडक पूर्वाधार निर्माणका लागि बजेट विनियोजन गर्दे अधुरा रहेका सबै सडक र राजमार्गहरू यथा समयमै पूरा गर्ने प्रतिबद्धता समेत जनाएको छ । यसले सरकार पूर्वाधार निर्माणमा कटीबद्ध छ भन्ने स्पष्ट रहेको नाडाले बताएको छ ।
द्रुतगतिको सडक पूर्वाधार निर्माणले नेपालको समग्र अटोमोवाइल व्यवसाय पनि गतिशील हुने अपेक्षा नाडाले राखेको छ । बजेट केही महत्वाकाँक्षी देखिए पनि यसको कार्यान्वयन प्रभावकारी हुन सके देशको अर्थतन्त्र नै गतिशील हुनेमा कुनै सन्देह नरहेको बताउँदै नाडाले बजेट समग्रमा सन्तुलित र भविष्य निर्माणमुखी रहेको उल्लेख गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)
काठमाडौँ