मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

थुनामुक्त भएपछि सेफ साहको सचिवालयले भन्यो - हदम्याद बाँकी रहँदै षड्यन्त्रपूर्वक पक्राउ गरियो

nepalviews.com · Tue Jun 16 09:39:15 GMT 2026

काठमाडौं । ठगीसम्बन्धी मुद्दामा तीन दिन हिरासतमा बसेपछि हाजिरी जमानीमा रिहा भएका सेफ सन्तोष साहको सचिवालयले जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालत जाने कानुनी हदम्याद बाँकी रहँदै आफूलाई पक्राउ गरिएको भन्दै आपत्ति जनाएको छ ।

सोमबार साँझ रिहा भएपछि सचिवालयले विज्ञप्ति जारी गर्दै सामान्य आर्थिक विवादलाई अनावश्यक रूपमा आपराधिक मुद्दाको स्वरूप दिई पक्राउ गरिएको दाबी गरेको हो । सचिवालयले यस घटनाले साहको मानमर्दन हुनुका साथै प्रतिष्ठामा आँच पुगेको जनाएको छ ।

विज्ञप्तिअनुसार विवाद ४ लाख ५० हजार रुपैयाँसँग सम्बन्धित रहेको र उक्त रकम भुक्तानी गर्नुपर्ने जिल्ला अदालत काठमाडौंको फैसलाविरुद्ध उच्च अदालत जाने तयारी भइरहेको थियो । यस्तो अवस्थामा कानुनी हदम्याद कायम रहेकै बेला पक्राउ गर्नु षड्यन्त्रपूर्ण भएको सचिवालयको आरोप छ ।

सचिवालयले सामान्य रकमको विषयमा फोन गरेर उपस्थित हुन आग्रह गर्न सकिने अवस्था हुँदाहुँदै जनकपुरसम्म प्रहरी टोली पठाएर पक्राउ गरिएकोप्रति पनि प्रश्न उठाएको छ । साथै, आफू फरार रहेको भन्ने प्रचार गलत भएको दाबी गर्दै साह एक साताअघि नै भद्रकालीस्थित प्रहरी कार्यालय पुगेको उल्लेख गरिएको छ ।

यद्यपि सचिवालयले विज्ञप्तिमा पक्राउ गर्ने निकायलाई ‘प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)’ भने पनि साहलाई गत शुक्रबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले जनकपुरबाट पक्राउ गरेको थियो ।

सचिवालयले विवादको पृष्ठभूमिसमेत सार्वजनिक गर्दै मिथिला खानाको प्रवर्द्धनका लागि सञ्चालन गरिएको ‘मिथिला थाली’ रेस्टुरेन्टले गैरीधारास्थित ‘सिला’ रेस्टुरेन्टका सम्पत्ति आर्जव होल्डिङ्स प्रालिबाट दुई करोड २५ लाख रुपैयाँमा खरिद गरेको जनाएको छ ।

सम्झौताअनुसार आर्जव होल्डिङ्सको घरभाडा, विद्युत् महसुल, बैंक ऋणका किस्ता तथा विभिन्न चेकमार्फत रकम भुक्तानी गर्दै आएको दाबी गर्दै सचिवालयले पछिल्लो समय चर्चामा आएको २५ लाख रुपैयाँको चेकसम्बन्धी विषयमा समेत वास्तविक भुक्तानी दाबी गरिएको रकमभन्दा बढी भइसकेको जनाएको छ ।

विज्ञप्तिअनुसार आर्जव होल्डिङ्सको नाममा बैंकिङ प्रणालीमार्फत कुल २८ लाख २५ हजार रुपैयाँ भुक्तानी गरिसकिएको छ । तर कम्पनीका प्रतिनिधि बताउने शकुन्तला अधिकारी थापाले कम्पनीको खाताभन्दा व्यक्तिगत खातामा रकम माग्दै आएको आरोप सचिवालयले लगाएको छ ।

साथै, खरिद–बिक्री सम्झौताअनुसार आवश्यक कर चुक्ता लगायतका कागजात पटकपटक माग्दा पनि आर्जव होल्डिङ्सबाट उपलब्ध नगराइएको दाबी गरिएको छ ।

यसअघि व्यवसायी शकुन्तला अधिकारी थापाले दिएको चेक अनादरसम्बन्धी उजुरीका आधारमा पक्राउ परेका साहलाई पीडित पक्षलाई चेकबमोजिमको रकम बुझाएपछि जिल्ला प्रहरी परिसर काठमाडौंले सोमबार हाजिरी जमानीमा रिहा गरेको थियो ।

साहको सचिवालयले जारी गरेको विज्ञप्ति -

बीबीसी मास्टर सेफ सन्तोष साह पक्राउको विषय र सोसम्बन्धी विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा प्रकाशित र प्रसारित सामग्रीका विषयमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । साहलाई जुन ढंगले हतार मानसिकतामा पक्राउ गरिएको छ, त्यो निन्दनीय छ ।

यसले सेफ साहले जीवनभर आर्जन गरेको मान, सम्मान, इज्जत, प्रतिष्ठा र गरिमामा ठूलो आघात पुर्‍याएको छ । यो कार्य सेफ साहको मानमर्दन र उहाँको प्रतिष्ठामा आँच पुर्‍याउने नियोजित उद्देश्यले षड्यन्त्रपूर्वक गरिएकामा हामी स्पष्ट छौँ ।

सेफ सन्तोष साहले नेपालमा मिथिला समुदायको खाना प्रवर्द्धन गर्ने उद्देश्यले सेफ सन्तोष साहले जनकपुरमा मिथिला थाली नामक रेस्टुरेन्ट सञ्चालन गर्नुभएको सबैलाई विदितै छ । उक्त रेस्टुरेन्टको विस्तार र मिथिला खानाको थप प्रचारप्रसार तथा प्रवर्द्धन गर्ने उद्देश्यले सेफ साहले गैरीधारामा मिथिला थाली रेस्टुरेन्ट सञ्चालन गर्नुभएको हो । तत्कालीन समयमा गैरीधारामा आर्जव होल्डिङ्स प्रालिले सिला नामक रेस्टुरेन्ट सञ्चालन गरिरहेको थियो । सञ्चालकले उक्त रेस्टुरेन्ट सञ्चालन गर्न नसकेको, बैंकको ऋण पनि तिर्न नसकेको र जग्गाधनीले समेत लामो समयदेखि पैसा तिर्न ताकेता गर्दै रेस्टुरेन्टमा ताला लगाएर भवन खाली गरिदिन आग्रह गरेको समयमा रेस्टुरेन्टसँग भएको सम्पूर्ण सम्पत्ति खरिद गरी मिथिला थाली रेस्टुरेन्ट सुरु गर्नुभएको थियो ।

सिला रेस्टुरेन्टको सम्पत्ति लिएबापत मिथिला थाली र आर्जव होल्डिङ्सबिच दुई करोड २५ लाख रुपैयाँमा सम्झौता भएको थियो । त्यसमध्ये आर्जव होल्डिङ्सले पहिले रेस्टुरेन्ट सञ्चालन गर्दाको अवधिको घरभाडा वक्यौताबापतको ४० लाख रुपैयाँ र सोही समयको विद्युत् महसुल बक्यौताबापतको दुई लाख ७७ हजार ९९७ रुपैयाँ मिथिला थालीले सम्बन्धित घरधनी र विद्युत् प्राधिकरणलाई आर्जव होल्डिङ्सका तर्फबाट भुक्तानी गरी सहजीकरण गरेको थियो ।

सोही रेस्टुरेन्ट सञ्चालन गर्दा आर्जव होल्डिङ्सले नेपाल बैंकबाट लिएको ऋणको किस्ता समेत पटकपटक मिथिला थालीले नै भुक्तानी गरी सहजीकरण गरिदिएको थियो । त्यस्तै विभिन्न मितिमा चेकबापत पनि भुक्तानी भइरहेको छ ।

पछिल्लोपटक सञ्चारमाध्यममा चर्चा भएको २५ लाख रुपैयाँको कहानी भने अर्कै छ । आर्जव होल्डिङ्सले लिएको २५ लाख रुपैयाँको चेक एकमुस्ट भुक्तानी नभई कम्पनीका प्रतिनिधिले दिएका आर्जव होल्डिङ्सकै नबिल बैंकमा रहेको खातामा दुईवटा चेकमार्फत १७ लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकमा दुईवटा चेकमार्फत ६ लाख रुपैयाँ र नेपाल बैंक लिमिटेडमा चारवटा चेकमार्फत ५ लाख २५ हजार रुपैयाँ गरी भुक्तानी गर्नुपर्ने रकमभन्दा बढी कूल रु २८ लाख २५ हजार बैंकिङ प्रणालीमार्फत भुक्तानी भइसकेको छ ।

आर्जव होल्डिङ्सको प्रतिनिधि दाबी गर्दै शकुन्तला थापाले पटकपटक आफ्नो व्यक्तिगत खातामा भुक्तानी माग गरेको तर मिथिला थालीले सम्झौताअनुसार नै कम्पनीका नाममा भुक्तानी गर्दै आएको छ । सम्झौताअनुसार मिथिला थालीले आर्जव होल्डिङ्सको मातहतमा रहेको सामान खरिदको भुक्तानी गरिरहे पनि सोबापत आर्जव होल्डिङ्सका तर्फबाट कुनै पनि बिल जारी नभएको अवस्था छ ।

आर्जव होल्डिङ्स र मिथिला थालीबीच खरिदबिक्रीको प्रक्रिया भइसकेपछि सो कम्पनीको कर चुक्ता कागजात पाउनुपर्नेमा पटकपटक माग गर्दा पनि होल्डिङ्सका तर्फबाट मिथिला थालीलाई प्राप्त भएको छैन ।

जहाँसम्म पक्राउ परेको विषय छ, त्यो जम्मा ४ लाख ५० हजार रुपैयाँका लागि हो । हामी जिल्ला अदालत काठमाडौँले उक्त रकम भुक्तानी गर्नुपर्ने भनी गरेको फैसलाका विरुद्धमा उच्च अदालत जाने तयारीमा थियौँ । जुन हाम्रो अधिकार पनि हो । उच्च अदालतमा जाने हदम्याद रहँदै अकस्मात षडयन्त्रपूर्वक प्रहरी हिरासतमा लिने काम भएको छ । साथै यति सामान्य रकमका लागि फोन गरेर बोलाउन पनि सक्ने भए पनि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीलाई पक्राउ गर्नका लागि जनकपुरसम्म पठाइएको छ ।

सञ्चारमाध्यममा त साह फरार भन्ने विषय पनि आएको छ, जबकि एक साताअगाडि साह भद्रकालीस्थित प्रहरी कार्यालय नै पुग्नुभएको थियो । तत्कालीन समयमा पक्राउ नगरी अहिले यति सानो रकमका लागि पक्राउ गर्नुको पछाडि के कारण हो त्यो भविष्यमा पक्कै खुल्नेछ । साह प्रहरी हिरासतबाट हिरासतमुक्त हुनुभएको छ । साह पक्राउ परेको सन्दर्भ र रेस्टुरेन्ट खरिद तथा कारोबारमा विषयमा सेफ साहले थप जानकारी सञ्चारमाध्यमलाई दिनुहुनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)

सम्बन्धित विषय