सांसद अन्सारीले भने – हामी लखेटिएका होइनौँ, सुरक्षित कोठामा सरेका हौँ
ratopati.com · Sat May 23 14:22:31 GMT 2026

काठमाडौँ । बारा जिल्ला घटनालाई लिएर सांसद रहबर अन्सारीले स्पष्ट पार्ने प्रयास गरेका छन् । बारामा आयोजित विस्तारित बैठकमा आफूहरू सुझाव संकलन जाँदा 'लखेटिएको' भन्दै बाहिरिएका भिडियोहरू भ्रमपूर्ण रहेको सांसद रहबर अन्सारीले स्पष्ट पारेका छन् ।
पार्टीका जिल्ला सभापतिलगायत केही व्यक्तिहरूलाई कारबाही गरिएपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न आयोजित कार्यक्रममा आफूहरू सहभागी हुन जाँदा केही तत्त्वहरूले होहल्ला गरेपछि कार्यक्रम सुचारु गर्न सुरक्षाकर्मीको सल्लाहमा आफूहरू केही समय अर्को कोठामा सरेको सांसद अन्सारीले दाबी गरे ।
उनले भने, 'हामीलाई भगाएको वा लखेटेको भन्ने कुरा पूर्णतः गलत हो । कार्यक्रममा केही होहल्ला भएपछि सुरक्षाका साथीहरूले एकछिन अर्कै कोठामा बस्नुभयो भने कार्यक्रम सहज रूपमा अघि बढ्छ भन्नुभयो । त्यसैले हामी सुरक्षित कोठामा गएका हौँ, त्यहाँबाट निस्किएपछि कार्यक्रम पुनः सञ्चालन भयो र समापन पनि भयो ।'
सांसद अन्सारीले सामाजिक सञ्जालमा भिडियोको अंश मात्रै काटेर भ्रम फैलाउने र तथ्य तोडमोड गर्ने काम भइरहेको आरोप लगाए । 'भिडियो काटेर भ्रम फैलाउँदैमा सत्य लुक्दैन । आजको घटनामा हामी लखेटिएका होइनौँ, त्यो गलत प्रचार हो,' उनले भने ।
सांसद अन्सारीले पार्टीले लिएको पछिल्लो कदमबारे प्रस्ट पार्दै भने, 'चुनावमा पार्टीको नीति र सिद्धान्तविपरीत काम गर्ने, उम्मेदवारलाई असहयोग गर्नेहरूलाई कारबाही गरिएको हो । जिल्ला सभापतिसमेतलाई कारबाही गरी साधारण सदस्यसमेत नरहने गरी हटाइएको छ । पार्टीभित्र असहमति हुनु स्वाभाविक हो, हामी त्यसलाई समेटेरै अघि बढ्छौँ, तर अराजक तत्वहरूका लागि यो पार्टीमा कुनै ठाउँ छैन ।'
आफूहरू जनताको माझमा रहेको र पार्टीका गतिविधिलाई जीवन्त बनाउन सक्रिय रहेको बताउँदै अन्सारीले भने, 'पार्टी यस्ता हल्लाले आत्तिएको छैन । निर्णय जनताले गर्ने हो, अफवाहले गर्ने होइन ।'
यो पनि
बारा घटनाबारे रास्वपाले भन्यो– पूर्णतः सत्यहीन, भ्रामक र गलत सूचना प्रचार भयो
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)