मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नक्कली भुटानी शरणार्थी प्रकरण : मुद्दा ‘हेर्दाहेर्दै’ मा, बुधबार सुनुवाइ हुने

nagariknews.nagariknetwork.com · Tue Jun 16 09:28:52 GMT 2026

बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरण अन्तर्गत चलिरहेको मुद्दा ‘हेर्दाहेर्दै’ मा राखिएको छ। जिल्ला अदालत काठमाडौंमा जारी सुनुवाइ निष्कर्षमा पुग्न नसकेपछि हेर्दाहेर्दैमा राखेर सुनुवाइ बुधबार सम्मका लागि स्थगित गरिएको हो।

न्यायाधीश तेजबहादुर खड्काको इजलासमा गत जेठ २७ गतेदेखि लगातार सुनुवाइ भइरहेको छ। फाइल अध्ययन तथा बहसका लागि समय आवश्यक परेको कारण आजको सुनुवाइ स्थगित गरी अर्को मिति तोकिएको हो।

बहसका लागि ठूलो संख्यामा कानुन व्यवसायीहरूले नाम दर्ता गराएपछि अदालतले बहस व्यवस्थित बनाउन समय सीमित गर्न र प्रक्रिया छोट्याउन कानुन व्यवसायीहरूसँग समन्वय गरिरहेको बताइएको छ।

उक्त घटनामा नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लगायत अन्य देश पठाइदिने प्रलोभन देखाई करोडौं रुपैयाँ ठगी गरिएको आरोप छ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा कुल ३० जनाविरुद्ध किर्ते, ठगी, संगठित अपराध तथा राज्यविरुद्धको अपराध अन्तर्गत मुद्दा दर्ता गरिएको थियो।

आरोपितहरूमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृह सचिव टेकनारायण पाण्डे लगायत उच्च पदस्थ व्यक्ति तथा विभिन्न बिचौलियाहरू समावेश छन्।

मुद्दा दर्ता हुँदा पक्राउ परेका केही अभियुक्त थुनामा पठाइएका थिए भने केही धरौटीमा रिहा भएका छन्। केही आरोपी अझै फरार रहेको जनाइएको छ।

पछिल्लो दुई वर्षदेखि प्राथमिकतामा नपरेको यो मुद्दा अहिले अदालतले निरन्तर सुनुवाइ गर्दै आएको छ, जसलाई नेपालको पछिल्लो समयको चर्चित ठगी प्रकरणमध्ये एक मानिएको छ।

Follow @nagarik_news

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)