मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गृहमन्त्री र कानुनमन्त्री संसदमा गयल, सभामुखलाई र्‍याखर्‍‍याख्ती पार्दै एमाले

shilapatra.com · Tue Jun 16 10:04:16 GMT 2026

प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी छ । विनियोजन विधेयक, २०८३ को विभिन्न शीर्षकहरूमाथि मन्त्रालयगत रूपमा छलफल जारी छ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, गृह मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय र रक्षा मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकहरूमाथि समूहकृत रूपमा छलफल चलिरहँदा मन्त्रीहरूको उपस्थिति नभएपछि १५ मिनेटको लागि स्थगित गरिएको थियो ।

स्थगित गरेपछिको दोस्रो बैठकमा पनि गृहमन्त्री सुधन गुरुङ र कानुनमन्त्री सोबिता गौतम उपस्थित थिएनन् । आठवटा मन्त्रालयको छलफल भए पनि ६ जना मन्त्रीहरू उपस्थित थिए ।

यस्तोमा छलफलमा भाग लिन रोस्ट्रम पुगेका थिए एमाले सांसद राजेन्द्र राई । उनले सबै मन्त्रीहरू उपस्थित नभएसम्म आफू अघि बढ्न नसक्ने बताए । ‘१५ मिनेट सदन स्थगित भयो । के को लागि भएको थियो ?,’ उनले प्रश्न गरे ।

सभामुखले विषयवस्तुमा अघि बढ्न भने । तर आफू विषयमा अघि बढ्न नसक्ने राईले बताए । संसद स्थगित गरेपछि मन्त्री आउनुपर्ने उनले बताए । ‘थिति बसालौँ । तपाईंहरूले बारम्बार हामीलाई हेप्नुभएको छ । अझै कति हेप्नुहुन्छ ? यहाँभन्दा हेप्ने ठाउँ छ ? यो मिल्दैन सभामुख महोदय । यो मेरो बाध्यता हो ।'

सभामुख अर्यालले विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय, पूर्वाधार विकासमन्त्रालय गृहमन्त्रालय, गृहमन्त्रालय, ऊर्जा जलस्रोत तथा सिचाँइमन्त्रालय, परराष्ट्रमन्त्रालय, अर्थ मन्त्रालय र रक्षा मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयको छलफलमा भएको बताए । गृहमन्त्री र कानुनमन्त्री संसदमा आउँदै गरेको र अन्य मन्त्रालयको विषयमा कुरा राख्न भने ।

सांसद राईले आफूले राखेको कुरा बेठीक हो भने भनिदिन आग्रह गरे । ‘मैले भनेको कुरा बेठीक हो त ? ‘नियमावलीअनुसार यो कुरा बेठीक भन्नुभयो भने भनिदिनुस् म अघि बढ्छु । मलाई सजिलो हुन्छ,’ सांसद राईले भने ।

उनले स्पष्ट रूपमा नियमावलीमा रहेको व्यवस्था भनिदिन आग्रह गर्छन् । ‘तपाईंहरू सजग नहुने जति बेला संकट पर्छ अनि जनताबाट चुनिएको प्रतिनिधि अब बोल्नुस्, अब अगाडि बढ्नुस् भन्न मिल्दैन,’ उनले भने ।

रोस्ट्रममा पुगेर विषयमा नबोल्नु आफ्नो बाध्यता रहेको सांसद राईले दोहोर्‍याए । ‘हिजो त्यत्रो कुराकानी गरेर स्थगित भएको आज १५ मिनेट स्थगित गरेको तपाईंले हेप्नुभयो । के को लागि स्थगित गर्नुभयो सभामुख महोदय । तपाईंले नियमावलीको यतिको यस्तो हो भन्नुभयो भने म सरक्क अघि बढ्छु । म विधिलाई मान्ने मान्छे,’ उनले भने, ‘संविधान हामीले बनाएको नियमावली तपाईंहरूले बनाउनु भएको छ । जर्बजस्ती नियमावली बनाउनुभएको छ तपाईंहरूले । मैले मानेकै छु । कति नियममा के छ भनिदिनुस् म मान्छु ।’

सभामुख अर्याल फेरि अघि बढ्न भन्छन् । जवाफमा सांसद राईले आठवटा मन्त्रालयको छलफल भएको र मन्त्री ६ जना भएको भन्दै भएको के हो भन्ने प्रश्न गरे । सभामुखले धरै अनुरोध गरेकाले अघि बढ्ने भन्दै आफ्नो धारणा राख्न अघि बढे सांसद राई ।

प्रकाशित मिति: मंगलबार, असार २, २०८३

१५:४९

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)