वातावरण दिवसमा नाडा ग्रीन ड्राइभ–२०२६
kalakarmi.com · Fri Jun 05 11:21:56 GMT 2026

काठमाडौं– विश्व वातावरण दिवस २०२६ को अवसरमा नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले आफ्नो इतिहासमै पहिलो पटक ‘नाडा ग्रीन ड्राइभ २०२६’ र्याली कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रममार्फत वातावरणमैत्री यातायात र विद्युतीय सवारीसाधनको प्रयोगलाई प्रवर्धन गर्ने सन्देश दिइएको नाडाले जनाएको छ ।
र्यालीमा दिपल, भोल्टस, कामा, एम्पीएर, स्काइवर्थ, फ्युचरमोर्टस, नामी, टियागो ईभी तथा सुजुकी लगायतका ब्राण्डका विद्युतीय सवारीसाधन सहभागी भएका थिए ।
कार्यक्रमलाई टाइम्स बिजनेश स्काइवर्थ तथा नेपाल जीवन बिमा कम्पनीले सहयोग गरेका थिए ।
नाडा सचिवालय टेकुबाट प्रारम्भ भएको र्याली त्रिपुरेश्वर, दरबारमार्ग, नक्साल, गौशाला, तीनकुने, नयाँ वानेश्वर, माइतीघर मण्डला, थापाथली तथा कुपण्डोलहुँदै पुल्चोकस्थित द प्लाजामा पुगेर समापन गरिएको थियो । र्यालीमा सहभागी ९२ जनालाई नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेती, पूर्वअध्यक्षद्वय शम्भुप्रसाद दाहाल तथा कृष्णप्रसाद दुलालले प्रमाणपत्र वितरण गरेका थिए ।
प्रमाणपत्र वितरण कार्यक्रम नाडाका महासचिव मिलनबाबु मल्लले सञ्चालन गरेका थिए भने र्यालीको समग्र व्यवस्थापन नाडा केन्द्रीय कार्यसमिति सदस्य तथा वातावरण समितिका सभापति महेश पालले गरेका थिए ।
नाडाले ‘नाडा ग्रीन ड्राइभ २०२६’ लाई सफल बनाउन सहयोग पुर्याउने सम्पूर्ण सदस्य तथा सहभागीहरूप्रति आभार व्यक्त गरेको छ । साथै, यस्ता कार्यक्रमले हरित यातायात, स्वच्छ ऊर्जा र वातावरण संरक्षणप्रति जनचेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)
काठमाडौँ