समयमै नवीकरण नगर्ने ५ हजार ३ सय २ वटा औषधी पसलको लाइसेन्स खारेज
corporatenepal.com · Tue Jun 16 10:31:19 GMT 2026

काठमाडौं । तोकिएको समयभित्र नवीकरण नगर्ने ५ हजार ३ सय २ वटा औषधी पसल तथा फार्मेसीको प्रमाणपत्र खारेज भएको छ ।
औषधी व्यवस्था विभागले आज एक सूचना जारी गर्दै उक्त पसलहरुको प्रमाणपत्र स्वत खारेज भएको जनाएको छ ।
Advertisement
तोकिएको अवधिभित्र नवीकरण नगरेका र नवीकरण म्याद समाप्त भएका औषधि पसलहरूको दर्ता प्रमाणपत्र स्वतः रद्द भएको हो ।
औषधि ऐन, २०३५ को दफा ११ मा भएको संशोधित व्यवस्था र सोही ऐनको दफा ११ को उपदफा (५) बमोजिम औषधि उत्पादन अनुज्ञापत्र, सिफारिस पत्र तथा प्रमाणपत्रको अवधि र नवीकरण सम्बन्धी व्यवस्था लागू गरिएको हो ।
विभागले जेठ २८ गतेसम्म नवीकरण म्याद समाप्त भई स्वतः रद्द भएका औषधि पसलहरूको सूचीसमेत सार्वजनिक गरेको छ ।
कानुनी व्यवस्था बमोजिम यस प्रकारको खारेजीको जानकारी सम्बन्धित व्यक्ति, संस्था वा सरोकारवालाहरूलाई उपलब्ध गराउनुपर्ने प्रावधान अनुरूप विभागले सूचना प्रकाशित गरेको जनाएको छ। म्याद समाप्त भइसकेका पसलहरूले अब कानुनी रूपमा औषधि पसल सञ्चालन गर्न पाउने छैनन् ।
यसैबीच, औषधि व्यवस्था विभागले सम्पूर्ण औषधि पसल सञ्चालकहरूलाई आफ्नो प्रमाणपत्रको अवस्था तत्काल यकिन गरी आवश्यक कानुनी प्रक्रिया पूरा गर्न अनुरोध गरेको छ ।
साथै, औषधि बिक्री वितरण कार्य सञ्चालन गर्दा प्रचलित कानुनी व्यवस्था तथा विभागीय निर्देशनहरूको पूर्ण पालना गर्न समेत विभागले कडा निर्देशन दिएको छ । कानुनी मापदण्ड पूरा नगरी औषधि व्यवसाय सञ्चालन नगर्न र जनस्वास्थ्यमा खेलबाड नगर्न समेत सचेत गराइएको छ ।
लाइसेन्स खारेज भएका औषधी पसलहरुको सूची हेर्न यहाँ क्लिक गर्नुहोस्
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)
काठमाडौँ