मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नक्कली भुटानी शरणार्थी प्रकरण: पाँच दिनको सुनुवाइपछि मुद्दा ‘हेर्दाहेर्दैमा’, बुधबार पनि बहस

hamrakura.com · Tue Jun 16 00:00:00 GMT 2026

काठमाडौँ। बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दा जिल्ला अदालत काठमाडौँमा पाँच दिनदेखि निरन्तर सुनुवाइ भइरहे पनि निष्कर्षमा पुग्न नसकेपछि हेर्दाहेर्दैमा राखिएको छ।

न्यायाधीश तेजबहादुर खड्काको इजलासले फाइल अध्ययनका लागि समय आवश्यक भएकाले बुधबारका लागि पुनः पेसी तोकेको हो।

गत जेठ २७ गतेदेखि सुनुवाइ भइरहेको यस मुद्दामा सयौँ कानून व्यवसायीले बहसका लागि नाम दर्ता गराएका छन्। बहस लामो बन्दै गएपछि अदालतले समय व्यवस्थापन गर्न आग्रह गर्दै आएको छ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लगायतका देश पठाइदिने प्रलोभनमा ठूलो रकम असुलेको आरोपमा २०८० जेठ १० गते जिल्ला अदालतमा मुद्दा दायर भएको थियो।

यस प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, पूर्व सांसद आङटावा शेर्पालगायत ३० जनाविरुद्ध किर्ते, ठगी, सङ्गठित अपराध र राज्यविरुद्धको कसुरमा अभियोग लगाइएको छ।

अभियोगपत्रअनुसार सङ्गठित गिरोहले सरकारी कागजातको दुरुपयोग गर्दै नेपाली नागरिकलाई भुटानी शरणार्थीका रूपमा देखाएर विदेश पठाउने योजना बनाएको थियो।

मुद्दा दायर हुँदा पक्राउ परेका १८ जनामध्ये दुई जना धरौटीमा र १६ जनालाई थुनामा राखेर पुर्पक्ष गर्न आदेश दिइएको थियो भने १२ जना फरार थिए। पछि केही फरार प्रतिवादी पक्राउ परे पनि केही अझै फरार छन्। यसबीच केहीविरुद्ध पूरक अभियोगपत्रसमेत दायर भइसकेको छ।

लामो समय प्राथमिकतामा नपरेको यो बहुचर्चित मुद्दा अहिले निरन्तर सुनुवाइमा रहेकाले यसको निर्णयलाई चासोका साथ हेरिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)