यातायात कार्यालयबाट ६ जना विचौलिया पक्राउ
ratopati.com · Tue Jun 16 10:53:23 GMT 2026

काठमाडौँ । काठमाडौँको चन्द्रागिरी नगरपालिका–५, गुर्जुधारास्थित यातायात कार्यालयमा सेवाग्राहीलाई अनावश्यक दुःख तथा हैरानी दिएको अभियोगमा प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त थानकोटबाट खटिएको संयुक्त प्रहरी टोलीले मंगलबार उनीहरूलाई पक्राउ गरेको हो।
सार्वजनिक सेवा प्रवाहमा बाधा पुर्याएको र बिचौलियाका रूपमा सक्रिय रही सर्वसाधारणलाई सास्ती दिएको सूचनाका आधारमा प्रहरीले उक्त कारबाही गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
पक्राउ पर्नेहरूमा चन्द्रागिरीका रन्जीत महर्जन, आशिष श्रेष्ठ, केदार श्रेष्ठ र सविन तामाङ रहेका छन्। त्यस्तै, गोकर्णेश्वरका दोर्जे लामा र धादिङका डाक्सन गुरुङलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले पक्राउ परेका ६ जनामाथि थप अनुसन्धान भइरहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)