अर्थमन्त्री वाग्ले र पूर्वाधारमन्त्री लम्सालले गरे सभामुखको अपमान, पहिले पनि विवादमा
shilapatra.com · Tue Jun 16 11:56:38 GMT 2026

मंगलबार प्रतिनिधिसभाको दोस्रो बैठकमा एउटा फरक दृश्यमाथि विपक्षी दल एमालेले प्रश्न उठायो । आगामी आर्थिक वर्षको लागि विनियोजन भएको बजेटमाथि मन्त्रालयगत छलफलमा मन्त्रीहरू अनुपस्थित भएपछि संसद स्थगन गरेर दोस्रो बैठक चलेको थियो ।
बैठकमा सभामुख डीपी अर्याल प्रवेश गर्दा अर्थमन्त्री स्वर्णिम वाग्ले र पूर्वाधार विकासमन्त्री सुनिल लम्साल आसनबाट उठेनन् । सोही विषयमा एमालेका प्रमुख सचेतक ऐन महरले नियमापत्ति जनाए ।
सभामुख बैठक कक्षमा प्रवेश गर्दा सबै सांसदहरूले उठेर सभामुखको सम्मान गर्नुपर्ने प्रतिनिधिसभा नियमावली २०८३ को नियम २० को खण्ड क मा उल्लेख छ । सो व्यवस्थाअनुसार दुई मन्त्रीहरूले सम्मान नगरेको उनले बताए ।
‘सम्मानीय सभामुख महोदय बैठककक्षमा प्रवेश गर्दैगर्दा दुई जना मन्त्रीज्यूले उठेर सम्मान गर्नुभएको छैन, बसिरहनुभएको छ । यसले हामीलाई चिन्तित र गम्भीर बनाएको छ । त्यो भिडियो चेक गरी रुलिङ गर्न अनुरोध गर्दछु,’ महरले भने ।
उनले सदनमा मर्यादा पालना गर्न सबै जिम्मेवार हुनुपर्ने बताए । ‘सदनको गरिमा कायम राख्ने हामी सबैको अनिवार्य जिम्मेवारी र दायित्व हो । मर्यादा पालना गर्नेमा सबै जिम्मेवार बन्नुपर्छ,’ महरले भने ।
यसअघि संसदमै अर्थमन्त्री वाग्लेले दिएको अभिव्यक्ति विवादमा तानिएको थियो । मन्त्री वाग्लेले केही दिनअघि करका दरमा हेरफेर भएकोबारे प्रतिपक्षले प्रश्न गर्दा प्रश्न उठाउने सांसद र पार्टीकै काण्ड छानबिन गर्ने धम्की दिएका थिए ।
त्यस्तै, मन्त्री लम्सालले दुई दिनअघि ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्ति पनि विवादमा तानिएको छ । आइतबार नागढुंगा–मुग्लिङ सडक योजनाको निरीक्षण क्रममा त्यहाँ पुगेर मन्त्री लम्सालले बिजुलीको पोल नसार्ने ठेकेदारको खुट्टा भाँच्न निर्देशन दिएका थिए ।
प्रकाशित मिति: मंगलबार, असार २, २०८३
१७:४१
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)