धुलिखेल ‘पूर्ण खोप सुनिश्चित नगरपालिका’ घोषणा
gorkhapatraonline.com · Tue Jun 16 11:59:58 GMT 2026

देशकै पहिलो ‘स्वस्थ सहर’ भएको काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका ‘पूर्ण खोप सुनिश्चित नगर’ घोषणा गरिएको छ । मङ्गलबार एक कार्यक्रमका बीच जिल्ला खोप समन्वय समितिका संयोजक एवम् जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दीपककुमार गौतमले नगरपालिकालाई पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गर्नुभएको हो ।
पूर्ण खोप सुनिश्चित गर्नका लागि बालबालिकाले बीसीजीदेखि दादुरासम्मको खोप लगाएको हुनुपर्दछ । बालबालिकालाई बीसीजी, रोटा, पोलियो, एफआईपिवी, पीसीभी, डीपीटी, हेपबी, हिब, दादुरा–रुबेला, जेई, टाइफाइड र एचपिभी खोप लगाइएको थियो । धुलिखेल नगरपालिका स्वास्थ्य शाखा प्रमुख सन्दीप केसीले नगरलाई पूर्ण खोप सुनिश्चित गर्नका लागि ६१४ जना बालबालिकाले १५ महिनाभित्र लगाइसक्नुपर्ने सबै खोप लगाइसकेपछि पूर्ण खोप सुनिश्चितता नगर घोषणा गरिएको बताउनुभयो।
उहाँले एक हजार ६६२ जनालाई बीसीजी, ५१३ जनालाई रोटाको पहिलो मात्रा, ४९४ जनालाई दोस्रो मात्रा, ५१३ जनालाई पोलियोको पहिलो मात्रा, ५०१ जनालाई दोस्रो मात्रा, ५०१ जनालाई तेस्रो मात्रा, ५०१ जनालाई एफआईपिवी, ५५२ जनालाई दोस्रो मात्रा खोप लगाइएको बताउनुभयो । यस्तै ५१३ जनालाई पीसीभी, ४९४ जनालाई दोस्रो, ५५२ जनालाई तेस्रो मात्रा, ५१३ जनालाई डीपीटी, हेप बी, हिब, ४९४ जनालाई दोस्रो मात्रा, ५०१ जनालाई तेस्रो मात्रा, ५५२ जनालाई दादुरा–रुबेलाको पहिलो मात्रा लगाइएको थियो भने ६१४ जनालाई दोस्रो मात्रा खोप लगाइएको थियो । ५८८ जनालाई जेई, ६१४ जनालाई टाइफाइड र एक हजार ३७२ जनालाई एचपिभी खोप लगाइएको उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा जिल्ला खोप समन्वय समितिका संयोजक एवम् जिल्ला समन्वय प्रमुख गौतमले खोप कार्यक्रमलाई अभियानका रूपमा मात्रै नभएर जीवनशैली बनाउनुपर्ने बताउनुभयो । उहाँले नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरेसँगै यसलाई कायम राख्नका लागि सोहीअनुसारका काम अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नगरपालिकाका निमित्त प्रमुख नीरजन जङ्गमले नगरपालिकाभित्रका सबै वडाका बालबालिकालाई सबै खोपको मात्रा पूरा गरेसँगै जनस्वास्थ्य कार्यालयको ‘भेरिफिकेसन’ (सम्परीक्षण) गरेपछि नगरपालिकालाई पूर्ण खोप सुनिश्चित गरिएको बताउनुभयो । उहाँले नेपालको पहिलो स्वस्थ सहर घोषणा भएकाले यसलाई कायम राख्न नगरपालिकाले सोहीअनुसारका कार्यक्रम अघि बढाएको बताउनुभयो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनी, ३ नम्बर वडाध्यक्ष गणेश आचार्य लगायतले पूर्ण खोप सुनिश्चितता कायम राख्नका लागि नगरपालिकाले स्वास्थ्य क्षेत्रमा विभिन्न कार्यक्रम अघि बढाउने बताउनुभएको थियो । कार्यक्रममा नगरपालिकालाई पूर्ण सुनिश्चितताका साथै वातानुकूलित खोप भण्डारणको समेत उद्घाटन गरिएको थियो ।
१३ वटा स्थानीय तह रहेको काभ्रेपलाञ्चोकमा हालसम्म जिल्लाका मण्डनदेउपुर, पाँचखाल, पनौती, नमोबुद्ध, धुलिखेल नगरपालिका, बेथानचोक, खानीखोला, महाभारत, रोशी, तेमाल, चौँरीदेउराली र भुम्लु गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता स्थानीय तह घोषणा गरिएको छ । जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले जिल्लाको बनेपा नगरपालिकालाई अबको केही दिनमा नै पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा गर्ने तयारी भइरहेको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)
सरोज गुरागाईं