मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बिर्तामोड रोजगार मेलामार्फत १ सय ६४ जनालाई रोजगारी

gorkhapatraonline.com · Tue Jun 16 13:12:14 GMT 2026

बिर्तामोड नगरपालिकाले आयोजना गरेको दुई दिने ‘बिर्तामोड रोजगार मेला’ मार्फत एक सय ६४ जना बेरोजगार युवालाई रोजगारी प्रदान गरिएको छ ।

रोजगारदाता र रोजगार खोज्ने व्यक्तिबीच प्रत्यक्ष समन्वय गराउने उद्देश्यले सञ्चालन गरिएको मेलामा एक हजारभन्दा बढी आवेदकलाई आगामी दिनमा थप रोजगारीका अवसरसँग जोड्न पहल गरिने आयोजकले जनाएको छ । रोजगारी खोज्न शहर बजार तथा विभिन्न स्थानमा धाउनुपर्नेमा यसरी गाउँ घरमै आएर रोजगारीको प्रबन्ध मिलेको भन्दै यहाँका युवाले खुसी व्यक्त गरेका छन् ।

बिर्तामोड उद्योग वाणिज्य संघसँगको सहकार्यमा बिर्तामोडस्थित अतिथि सदनमा शनिबारदेखि सञ्चालन भएको २ दिने रोजगार मेलाको समापन समारोहमा मेलाका सहजकर्ता पाथवे नेपालका सेवक बजगाईले उक्त जानकारी दिनुभएको हो ।

उहाँका अनुसार मेलाको अवधिभर दुई हजार आठ सय ७१ जनाले अवलोकन गर्नुभएको छ । विभिन्न क्षेत्रका रोजगारदाता संस्थामा काम गर्न इच्छुक एक हजार ७६ जनाले आवेदन दिएका मध्ये प्रारम्भिक चरणमै एक सय ६४ जनाले रोजगारी प्राप्त गरेका हुन । यसमा अन्य बाँकी आवेदकलाई उनीहरूको योग्यता र सीपअनुसार उपयुक्त रोजगारीमा आबद्ध गराउन सम्बन्धित रोजगारदाता संस्थासँग समन्वय र सहजीकरणको प्रक्रिया अगाडि बढाइने जनाइएको छ ।

मेलामा विभिन्न क्षेत्रका २५ वटा रोजगारदाता संघ–संस्थाले सहभागिता जनाएका थिए । ती संस्थाले आफ्ना आवश्यकताअनुसार जनशक्ति माग गर्दै प्रत्यक्ष अन्तर्वार्ता तथा परामर्शसमेत प्रदान गरेका थिए । रोजगारको खोजीमा रहेका युवाले आफूलाई उपयुक्त रोजगारीको अवसरबारे जानकारी लिनुका साथै आवेदन दिने अवसर प्राप्त गरेका थिए ।

समापन समारोहलाई सम्बोधन गर्दै बिर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महतारा प्रसाईँले रोजगारदाता र रोजगारीको खोजीमा रहेका व्यक्तिबीच प्रत्यक्ष सम्पर्क स्थापित गराउने माध्यमका रूपमा रोजगार मेला प्रभावकारी रहेको बताउनुभयो ।

उहाँले यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताउनुभयो । नगरपालिकाले आफ्नो क्षेत्रभित्र उपलब्ध अवसरको पहिचान गर्दै युवालाई स्वदेशमै रोजगारीसँग जोड्ने प्रयासलाई निरन्तरता दिनेछ यस कार्यक्रमले समेत युवालाई रोजगारीमा जोडन मद्धत मिलेको छ, उहाँले भन्नुभयो ।

त्यसैगरी बिर्तामोड उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष निर्मल भट्टराईले मेलामार्फत आवेदन दिएका बेरोजगार युवालाई विभिन्न व्यावसायिक प्रतिष्ठानसँग समन्वय गरी रोजगारी उपलब्ध गराउन संघले आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

भट्टराईले युवालाई स्वदेशमै अवसर उपलब्ध गराउन सके विदेश पलायन न्यूनीकरणमा हुने बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)