मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

लोपोन्मुख हायु जातिको चिटिक्क बस्ती, उच्च अनुशासनले घरझगडा शून्य

nagariknews.nagariknetwork.com · Tue Jun 16 13:20:10 GMT 2026

घर वरिपरि चिटिक्क सफा छ । सबैको घरमा व्यवस्थित शौचालय, खानेपानी, घरआँगनदेखि भान्सासम्म सफा देखिन्छ । अझ प्रत्येक घरका आँगनमा फूल रोपेर अझ सुन्दर बनाइएको छ । यो दृश्य हो सिन्धुलीको सुनकोसी गाउँपालिका–२ को हायु बस्तीको ।

हायु बस्ती भन्नेबित्तिकै धेरैको मनमा अशिक्षा, गरिबी र सामाजिक–आर्थिक रूपमा पछाडि परेको समुदायको चित्र आउँछ । तर सिन्धुलीको सुनकोसी गाउँपालिका–२ स्थित हायु बस्तीले भने यो सोचलाई बदलिदिएको छ । लोपोन्मुख हायु समुदायको यो बस्ती अहिले सरसफाइ, आर्थिक समृद्धि र व्यवसायिक कृषिका कारण उदाहरणीय बनेको छ ।

सिन्धुलीको सुनकोसी गाउँपालिका–२ मा रहेको हायु बस्ती अहिले परिवर्तनको नमुना बनेको छ । नेपालकै लोपोन्मुख जाति मानिने हायु समुदायका २० घरपरिवार बसोबास गर्ने यो बस्ती सुन्दर, व्यवस्थित र चिटिक्क देखिन्छ । हायु समुदायले विकट गाउँ नै भए पनि टोल सुधार समिति नै बनाएर टोललाई सरसफाइ राख्ने अभियान नै चलाएर सफा राखेका छन् ।

दातृ निकायसँगको सहकार्यमा हायु बस्तीमा स्वच्छ र सफा टोल घोषणा गर्ने अभियान स्थानीय सरकारले चलाएपछि त्यस क्षेत्र सफा बनेको हो । हायु बस्तीकी सुशिला हायु पछिल्लो समय जनचेतना अभिवृद्धिसँगै टोल सफा बन्दै गएको बताउँछिन् ।

“हामी पहिलादेखि नै सफा बस्नुपर्छ, सफा बनाउनु पर्छ भन्नेमा थियौँ । पछिल्लो समय थप जनचेतना अभिवृद्धिले घरआँगन सफा बनाउन मद्दत पुगेको हो,” उनले नागरिकसँग भनिन्, “यहाँ मदिरा खाएर मातिने, पैसा सक्ने र घरझगडा हुनेजस्ता समस्या छैनन् ।”

राज्यबाट प्राप्त हुने लोपोन्मुख जातिको भत्तामा मात्र निर्भर नभई यहाँका स्थानीयले व्यवसायिक कृषि तथा फलफूल खेतीलाई आम्दानीको मुख्य स्रोत बनाएका छन् । विशेषगरी जुनार खेतीले यहाँको आर्थिक अवस्था सुधार्न महत्वपूर्ण भूमिका खेलेको छ ।

बस्तीबाट सवारीमा झन्डै दुई घण्टाको दूरीमा रहेको विपी राजमार्गसम्म लगेपछि सबै प्रकारका फलफूलले बजार पाउने र आम्दानीको दरिलो स्रोत बनेको हायु समुदायको बुझाइ छ । बस्ती वरिपरि फैलिएका जुनारका बगैँचाले त्यस क्षेत्र नै ढकमक्क बनेको छ ।

हायु बस्तीकै मानबहादुर हायु टोलका सबै एकजुट भएर सफा टोल राख्न सफल भएको बताउँछन् ।

“लोपोन्मुख जाति भनेर हामीलाई सरकारले भत्ता त दिन्छ, तर त्यसले हाम्रो खर्च पुग्दैन । त्यसैले थप कृषिलाई व्यवसायिकता दिएका छौँ,” उनले भने, “छोराछोरीलाई राम्रो शिक्षा दिएका छौँ ।”

उनले सरकारले दिएको भत्ता आफूहरूले सदुपयोग गरेको बताए । “हामीले मदिरा पिएर भत्ता सकाएका छैनौँ । विभिन्न संघसंस्थाले जनचेतना दिएसँगै हामीले त्यसको सदुपयोग गर्दै थप आर्थिक उपार्जनमा लागेका हौँ ।”

हायु बस्ती भए पनि आफ्नो गाउँ–टोल आफैं स्वच्छ राख्नुपर्छ भन्ने जनचेतना भएकाले हायु बस्ती सफा र स्वच्छ रहेको वडा अध्यक्ष जीवन बुर्जा बताउँछन् ।

“लोपोन्मुख जाति भएकै आधारमा उहाँहरूलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध छ । तर भत्ता दुरुपयोग नगरी सदुपयोग गर्दा हायु समुदाय उदाहरण बनेको हो,” वडा अध्यक्ष बुर्जाले भने, “हायु गाउँ नै सुन्दर छ । सबैले हेर्न र यहाँबाट सरसफाइ तथा स्वच्छ गाउँ कस्तो हुन्छ भनेर सिक्न सकिन्छ ।”

Follow @nagarik_news

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)