प्राधिकरणका तत्कालीन महानिर्देशक गौतमलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
annapurnapost.com · Tue Jun 16 13:22:39 GMT 2026

काठमाडौं : विशेष अदालतले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित भ्रष्टाचार प्रकरणमा नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक संजीव गौतमलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।
न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले गौतमलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो।
अदालतले उपलब्ध प्रमाण, प्रतिवादीको बयान तथा मिसिल संलग्न कागजात अध्ययनपछि गौतमविरुद्धको अभियोगमा थप प्रमाण परीक्षण गर्नुपर्ने देखिएकाले उनलाई थुनामा राखी पुर्पक्ष गर्नुपर्ने निष्कर्ष निकालेको आदेशमा उल्लेख छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा परामर्शदाता (डिजाइन रिभ्यु तथा निर्माण सुपरिवेक्षण) नियुक्तिको प्रक्रियामा लागत कृत्रिम रूपमा बढाई प्राधिकरणलाई ८ करोड ९५ लाख २ हजार ९८० रुपैयाँ हानिनोक्सानी पुर्याएको आरोपमा गौतमविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
आदेशमा गौतमले अनुसन्धानका क्रममा र अदालतमा दिएको बयानमा आफूले कुनै रकम हिनामिना नगरेको र आरोपित कसुरमा इन्कार गरेको उल्लेख भए पनि, हालसम्म प्राप्त आधार, प्रमाण तथा खरिद सम्झौतासम्बन्धी कागजातबाट उनीविरुद्धको अभियोग प्रथम दृष्टिमै पुष्टि हुने आधार देखिएको उल्लेख गरिएको छ।
विशेष अदालतले यस अवस्थालाई मध्यनजर गर्दै विशेष अदालत ऐन, २०५९ को दफा ७ को खण्ड (ङ) बमोजिम गौतमलाई थुनुवा पुर्जी दिई सम्बन्धित कारागार कार्यालयमा पठाउन आदेश दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)
काठमाडौँ
अख्तियार दुरुपयोग अनुसन्धान आयोग