मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विशेषाधिकार समितिको राष्ट्रिय सम्मेलन सङ्घीयता सुद‌ृढीकरणमा कोसेढुङ्गा : मुख्यमन्त्री आचार्य

ratopati.com · Tue Jun 16 14:06:47 GMT 2026

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभाका विशेषाधिकार समितिहरूबिचको समन्वय, अनुभव आदानप्रदान र साझा सिकाइले सङ्घीय लोकतान्त्रिक व्यवस्थालाई थप सुदृढ बनाउन महत्त्वपूर्ण योगदान पुग्ने बताएका छन्।

लुम्बिनी प्रदेश सभाको विशेषाधिकार समितिको आयोजनामा दाङको लुम्बिनी सभा हलमा सुरु भएको बागमती, सुदूरपश्चिम र लुम्बिनी प्रदेश सभाका विशेषाधिकार समितिका सभापति तथा सदस्यहरूको राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले यस्तो धारणा व्यक्त गरेका हुन्।

उनले प्रदेशहरू स्वायत्त र सक्षम संरचनाका रूपमा स्थापित भइसकेको उल्लेख गर्दै अन्तर्संवाद, सहकार्य र अनुभव आदानप्रदानबाट सङ्घीय शासन प्रणालीमा देखिएका कमी–कमजोरी हटाउन सहयोग पुग्ने बताए। सम्मेलन सङ्घीयता कार्यान्वयनलाई थप मजबुत बनाउने महत्त्वपूर्ण कोसेढुङ्गा सावित हुने उनको विश्वास थियो।

मुख्यमन्त्री आचार्यले प्रदेश सरकार जनताको साथी र सारथीका रूपमा स्थापित भएको दाबी गर्दै सीमित स्रोत–साधनका बाबजुद प्रदेशहरूले उल्लेखनीय उपलब्धि हासिल गरेको बताए।

उनले लुम्बिनी प्रदेशले भौतिक पूर्वाधार विकासमा महत्त्वपूर्ण प्रगति गरेको उल्लेख गर्दै आगामी आर्थिक वर्षमा अझ प्रभावकारी परिणाम प्राप्त हुने विश्वास व्यक्त गरे।

उनले लुम्बिनी प्रादेशिक अस्पताल, लुम्बिनी प्राविधिक विश्वविद्यालय लगायत प्रदेश गौरवका आयोजनाहरू सफलतापूर्वक अघि बढिरहेको जानकारी दिए। साथै प्रदेश सरकारका मन्त्रालयको संख्या १२ बाट ८ मा झारेर प्रशासनिक खर्च नियन्त्रण तथा कार्यसम्पादन सुधारका प्रयासहरू अघि बढाइएको बताए।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)