मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

क्यानका पूर्वमहानिर्देशक गौतमलाई थुनामा पठाउने आदेश

nepalnews.com · Tue Jun 16 14:09:06 GMT 2026

काठमाडौँ। विशेष अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक सञ्जीव गौतमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रियामा सम्झौताविपरीत ठेकेदारसँग मिलेमतो गरेर तीन अर्ब ६२ करोड कर छुट दिई भ्रष्टाचार गरेको मुद्दामा गौतमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो। विशेषका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले गौतमलाई थुनामा पठाउने आदेश मंगलबार दिएको हो।

अख्तियार दुरुपयोग अनुसनधान आयोगले गत २४ वैशाखमा तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित १३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

राष्ट्रसेवक पदाधिकारी, कर्मचारी र ठेकेदार कम्पनी चाइना सीएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेडले आपसी मिलेमतो र योजना बनाएर भ्रष्टाचार गरेको अख्तियारको अभियोग छ।

मुद्दामा अख्तियारले पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई प्रमुख प्रतिवादी बनाएको छ। क्यानका पूर्वमहानिर्देशक गौतमविरुद्ध तीन अर्ब ६२ करोड पाँच लाख २२ हजार १६० रुपैयाँ बिगो कायम गरिएको थियो। उनीविरुद्ध भ्रष्टाचार निवारण ऐनबमोजिम रिसबत लिए/दिएकामा १० देखि १४ वर्षसम्म कैद र उच्च पदाधिकारी मन्त्रीका रूपमा थप तीन वर्ष सजाय मागदाबी अख्तियारले गरेको थियो।

यो मुद्दामा तत्कालीन अर्थसचिव शंकरप्रसाद अधिकारी र पर्यटनसचिव महेश्वर न्यौपानेविरुद्ध संयुक्त रूपमा तीन अर्ब ६२ करोड पाँच लाख २२ हजार १६० रुपैयाँ बिगो र रिसबत लिए/दिएकामा १० देखि १४ वर्षसम्म कैद तथा उच्च पदाधिकारी सचिवका रूपमा थप तीन वर्ष सजाय मागदाबी अख्तियारले गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)