कोसीमा उठ्यो एमालेलाई माथिदेखि तलैसम्म पुनर्गठन गर्नुपर्ने माग
baahrakhari.com · Tue Jun 16 14:42:35 GMT 2026

विराटनगर । नेकपा (एमाले) को कोसी प्रदेशस्तरीय भेलामा सहभागी नेता-कार्यकर्ताले नेतृत्व परिवर्तन हुनुपर्ने माग अघि सारेका छन् । विराटनगरमा मंगलबार (असार २) देखि दुईदिने भेला सुरु भएको हो ।
हालै भएको प्रतिनिधिसभा निर्वाचनको समीक्षा तथा पार्टी संगठनका विषयमा सुझाव संकलन गर्न गठित सुझाव संकलन कार्यदलले कार्यक्रम आयोजना गरेको हो ।
एमालेले उपाध्यक्ष रामबहादुर थापा 'बादल'को संयोजकत्वमा सुझाव संकलन कार्यदल गठन गरी देशभर सुझाव संकलन गरिरहेको छ । यसै क्रममा विराटनगरमा पनि कार्यक्रम आयोजना गरिएको एमाले कोसीले जनाएको छ ।
सहभागी नेता तथा कार्यकर्ताले पार्टीलाई शिरदेखि पाउसम्मै पुनर्गठन गर्नुपर्ने मत राखेका सहभागी एक नेताले जानकारी दिए । "कम्युनिस्ट आन्दोलन नै संकटबाट गुज्रिरहेको अवस्थामा पार्टीमा नेतृत्व परिवर्तनको माग जोडदार रूपमा उठेको छ," ती नेताले भने ।
भेलामा बादलसहित उपाध्यक्षहरू विष्णु पौडेल र पृथ्वीसुब्बा गुरुङ, महासचिव शंकर पोखरेल तथा सचिवहरू शेरधन राई, भानुभक्त ढकाल र हिक्मत कार्कीलगायत सहभागी छन् । यस्तै कोसीका भूगोलका केन्द्रीय सदस्यहरूको सहभागिता छ ।
मंगलबारको छलफलमा एमालेलाई वडादेखि, क्षेत्र, नगर, जिल्ला, प्रदेश र केन्द्रसम्मै पुनर्गठन गरेर जान सुझाव आएको एक नेताले जानकारी दिए । "व्यक्तिकेन्द्रित हुँदा पार्टीले ठूलो नोक्सानी व्यहोर्नुपरेको र चुनावमा ठूलो क्षति हुन पुगेको निष्कर्ष छ," ती नेताले भने, "नेतृत्वको कार्यशैलीका विषयमा समेत छलफल भएको छ ।"
सुझाव संकलनमा कोसीका पाँचथरबाहेक १३ जिल्लाका पदाधिकारीहरू सहभागी छन् । यस्तै, फागुन २१ को चुनावमा प्रदेशका विभिन्न क्षेत्रबाट एमाले उमेदवार बनेकाहरू सहभागी छन् ।
अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट भेलालाई सम्बोधन गर्दै निर्वाचनका नाममा डर र त्रासको वातावरण सिर्जना गरेर सत्ता कब्जा गरिएको आरोप लगाएका थिए । सत्ता कब्जाबाट मुक्त हुन पार्टी एकढिक्का हुनुपर्ने उनको जोड थियो ।
ओलीले अध्यक्ष हटाउने चर्चाबारे महाधिवेशन भएको तीन महिना पनि नबितेको अवस्थामा कुन विधिबाट हटाउने हो ? भनि प्रश्न गरेको एक नेताले सुनाए ।
#नेकपा एमाले
#एमाले पुनर्गठन कार्यदल
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)