शिक्षकको दलीय आबद्धता खोज्दै शिक्षा मन्त्रालय
ekantipur.com · Sun Apr 28 00:11:20 UTC 2024

काठमाडौँ — शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राजनीतिक पार्टीमा आबद्ध शिक्षकको पहिचान गर्न निर्वाचन आयोगसँग दलका कार्यसमितिको विवरण माग गरेको छ । दलीय आबद्धता भएका शिक्षकलाई कारबाही गर्न सहज होस् भनेर आयोगसँग राजनीतिक दलका कार्यकारिणी समितिको विवरण माग गर्दै बिहीबार पत्राचार गरिएको शिक्षामन्त्री सुमना श्रेष्ठको सचिवालयले जनाएको हो ।
‘राजनीतिक दलका केन्द्रीय, प्रदेश र जिल्ला तहका सबै कार्यकारिणी समितिमा रहेका पदाधिकारीको विवरण माग गरी निर्वाचन आयोगमा पत्राचार गर्ने निर्णय भएको छ,’ शिक्षामन्त्री श्रेष्ठको सचिवालयद्वारा जारी प्रेस नोटमा भनिएको छ, ‘दलीय आबद्धता भएका शिक्षकको विषयमा परेका उजुरीको विवरण यकिन गरी कारबाही अघि बढाउन आयोगको अभिलेखमा भएको दलका कार्यसमितिको विवरण मागिएको हो ।’ प्रवक्ता केशव दाहालले शिक्षा मन्त्रालयको कानुन तथा फैसला शाखाले आयोगलाई पत्राचार गरी विवरण माग गरेको बताए । उजुरी प्राप्त भएका जिल्ला निर्वाचन कार्यालयबाट पनि विवरण माग गरी शिक्षक दलको सदस्य भए/नभएको पुष्टि गरी कारबाही अघि बढाइने उनले जनाए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)