मिथिलाको सभ्यता झल्काउँदै मैथिली विकास कोष
annapurnapost.com · Tue Mar 11 02:00:05 GMT 2025

जनकपुरधाम : मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीको अहिले प्रायःजसो समय जनकपुरधाम—८ ज्ञानकूप विद्यालयको पछाडि निर्माणाधीन कोषको भवनकै व्यवस्थापनमा बित्छ।
उनले आफ्ना अन्य कामकाजभन्दा पनि कोषको भवन निर्माणकार्यलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताउँछन्। लामो समयको प्रयास र निरन्तरको मेहनतपछि मैथिली विकास कोषको चारतले भव्य भवन ठडिएको छ। टाढैबाट हेर्दा भवनको बनावट, रंगरोगन र बाहिर कोरिएको मिथिला चित्रकलाले यसलाई निकै भव्य र सुन्दर रूप दिएको छ।
मैथिली भाषा, संस्कार, संस्कृति र इतिहासको जगेर्नाको उद्देश्यले साढे ६ करोड रुपैयाँको लागतमा निर्माण गरिएको कोषको भवन निर्माणका लागि सम्पूर्ण सहयोग मधेस प्रदेश सरकारबाट प्राप्त भएको कोषका अध्यक्ष जीवनाथ चौधरी बताउँछन्। ‘अन्य संघसंस्थाहरूको कार्यालय बनाएजस्तै मैथिली विकास कोषको पनि एउटा कार्यालय बनाउनुपर्छ भन्ने हाम्रो धारणा थियो। हामीले सोही तहमा प्रयास पनि ग¥यौं। गुठी संस्थान जनकपुर कार्यालयसँग समन्वय गरी केन्द्रीय गुठीबाट सम्पूर्ण प्रक्रिया पूरा गरेर पाँच कठ्ठा जग्गा लिजमा लिएर हामीले भवन बनाउने परिकल्पना ग¥र्यौं। भवन निर्माणका लागि प्रस्ताव लिएर करिब ६ वर्ष पूर्व मधेस प्रदेश सरकारका तत्कालीन भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनल समक्ष पुगेका थियौं। उहाँले पहिलो पल्टमै ३० लाख रुपैयाँ कोषको लागि छुट्याई दिनुभयो,’ चौधरीले प्रदेश सरकारबाट प्राप्त सहयोगको सराह्रना गर्दै भने, ‘पछि मैथिली भाषाका अभियन्ता र हामीसँग निकै राम्रो सम्बन्ध भएका नेपाली कांग्रेसका रामसरोज यादव प्रदेश सरकारमा भौतिक पूर्वाधार मन्त्रालयमा मन्त्रीको कार्यभार पाउनुभयो र उहाँले कोषको लागि करिब ७ करोड रुपैयाँ भवन निर्माणको बजेट छुट्याई दिनुभयो। उहाँकै पालामा डीपीआर तयार भएर टेन्डर प्रक्रियाबाट सबै काम भएको हो।’
मिथिला चित्रकला, हस्तकला र मूर्तिकलालाई विशेष रूपमा प्रवद्र्धन गर्ने उद्देश्यले कोषको भवनमा यी कलाहरूको प्रशिक्षण, प्रदर्शन र बिक्री वितरणको समेत बन्दोबस्त मिलाइने भएको छ। जसले गर्दा मैथिली संस्कृतिको विकासमा टेवा पुग्ने कोषका सदस्यसचिव तथा पत्रकार श्यामसुन्दर शशि बताउँछन्। ‘मिथिला र मैथिलीको क्षेत्रमा काम गर्नेहरूलाई आयसँग जोड्नसमेत हामीले यो भवनमार्फत काम गर्ने योजना बनाएका छौं। जसअन्तर्गत पहिलो चरणमा यहाँ प्रशिक्षणका कार्यक्रमहरू गरिनेछ, जसबाट प्रशिक्षित भएकाहरूले आफ्नो उत्पादन गर्न सक्छन् र तिनलाई बजारमा बेच्ने बन्दोबस्तसमेत हामी मिलाउँछौं,’ शशि भन्छन्, ‘जनकपुरमा अहिलेसम्म पर्यटक वा दर्शनार्थीहरू आउँदा उपहारमा दिनेलिने वस्तु भनेको मिथिला चित्रकला वा जानकी मन्दिरको तस्बिर हुन्छ, जुन कि निकै महँगो पर्न जान्छ। हामीले प्रदेश सरकारसँग तथा स्थानीय तहसँग समन्वय गरेर जनकपुरको उपहारको रूपमा माता सीता र जनकको प्रतिमालाई स्थापित गराउन खोजिरहेका छौं। चाँडै यस योजनालाई हामी कार्यान्वयनमा ल्याउने छौं। त्यसैगरी मिथिलाञ्चलमा उत्पादन हुने लाहको लहठी (चुरा), वास्तुकला, काष्ठकला र अन्य स्थानीय कलात्मक वस्तुहरूलाई पनि प्रवद्र्धन गर्ने हाम्रो योजना छ।’ आगामी दिनमा सयौं मिथिलानीहरूलाई कोषमार्फत प्रशिक्षित गरेर रोजगार सिर्जना गर्ने जनाइएको छ।
भवनमा चार सय जना एकै पटक बस्न मिल्ने सुविधा सम्पन्न राजर्षि जनक बैठक कक्ष बनाइएको छ भने अन्य कक्षहरूलाई पनि मिथिलाका विभूतिहरूको नाम दिइएको छ। जसमा मैथिली भवन, विद्यापति कक्ष (अध्ययन तथा अनुसन्धान केन्द्र), जानकी कक्ष (संग्रहालय), डा. धीरेन्द्र कक्ष (प्रशिक्षण तथा वृत्ति विकास), सलहेस कक्ष (आर्ट ग्यालरी), राजर्षि जनक सभाकक्ष, दीनाभद्री कक्ष, शास्त्री कक्ष (सञ्चार तथा प्रविधि), याज्ञवल्क्य कक्ष, मिथिला सहिद कक्षलगायतका १५ वटा कक्षहरू रहेका छन्। मिथिलामा लोप हुँदै गइरहेका पारम्परिक वस्तुहरू जस्तै काठको सन्दुक (बाकस), धान कुट्ने ढेकी, उखर समाठ, धान राख्ने कोठी, भखारी, माटोको चुल्होलगायतका सामग्रीहरूलाई समेत कोषको भवनमा अवलोकनका लागि राखिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)