बुद्धिमायाको बुद्धिले नौ सय महिला रोजगार
gorkhapatraonline.com · Sun May 24 00:56:37 GMT 2026

नारायणगढ, जेठ १० गते । गरे के सम्भव हुँदैन ? भन्ने कथनलाई चितवनकी एक महिलाले प्रमाणित गर्नुभएको छ । उहाँ एक्लैले नौ सयभन्दा बढी महिलालाई रोजगारी दिएर अन्यलाई काममा लाग्न उत्प्रेरित गरिरहनुभएको छ ।
कालिका नगरपालिका–२ की बुद्धिमाया घलेले घरको कामबाट फुर्सद मिलेको समयमा भेडाको उनबाट धागो बनाउने, धागोबाट गलैँचा बुन्ने, ढाकाको कपडा बुन्ने तथा हस्तकलाका सामान तयार पारेर ती महिलालाई रोजगारी दिनुभएको छ ।
“हामीबाट उन लगेर धागो बनाउने, धागोबाट गलँैचा बुन्ने, सुतीको धागो लगेर ढाकाको कपडा बुन्ने जस्ता काम महिलाले घरमै बसेर गर्नुहुन्छ,” बुद्धिमायाले भन्नुभयो, “यो काम गरेबापत उहाँहरूले महिनामा दुई हजारदेखि ४० हजार रुपियाँसम्म कमाउनु हुन्छ ।”
विसं २०७५ देखि १० जनालाई लिएर बुद्धिमायाले बिएम हस्तकला प्रशिक्षण उद्योग स्थापना गरी गृहिणी महिलालाई रोजगारी दिन थाल्नुभएको हो । अहिले उहाँमार्फत प्रत्यक्ष रोजगारी पाउने नौ सय जना पुगेका छन् ।
त्यस्तैमा एक हुनुहुन्छ, कालिका नगरपालिका–२ की ७३ वर्षीय बिनुमाया गुरुङ । उहाँ दैनिक उन किनेर धागो तयार पार्नुहुन्छ । “कोरोनाको महामारीमा पनि हामीले रित्तो हात बस्नु परेन । उद्योगबाट उन ल्याउँछु, धागो बनाएर लगिदिन्छु,” उहाँले भन्नुभयो, “घरको दैनिक काम सकेर फुर्सदको काममा धागो बनाउँदा पनि मासिक सात हजार रुपियाँसम्म कमाउने गरेकी छु ।”
उत्पादित वस्तु बुद्धिमायाले स्वदेश र विदेशमा समेत बेच्नुहुन्छ । “चीन र न्युजिल्यान्डबाट उन आउँछ । त्यसबाट उत्पादन गरिएको धागोले गलैँचा बनाएर चीन, भारत, अस्टे«लियालगायतका देशमा बेच्छौँ,” बुद्धिमायाले भन्नुभयो । गलैँचासँगै हस्तकलाका समान र ढाकाको कपडा पनि बिव्रmी हुने उहाँले बताउनुभयो । “मासिक २० लाख रुपियाँभन्दा बढी समान विदेश जान्थ्यो तर जेनजी आन्दोलनपछि केही घटेको छ,” उहाँले भन्नुभयो, “नेपालमा पनि यसको व्यापार राम्रै छ ।”
बुद्धिमायाले घरमै धागो बनाउनेलाई चर्खा र ढाका बनाउनेलाई तान उपलब्ध गराउनुहुन्छ । एउटा चर्खाको पाँच हजार देखि १६ हजारसम्म र तानको २६ हजारदेखि ८० हजार रुपियाँसम्म मूल्य पर्छ । उहाँको सेवाक्षेत्र चितवनको कालिका, भरतपुर, इच्छाकामना, राप्ती, माडीसँगै नवलपरासीको मध्यविन्दु, हुप्सीकोटसम्म विस्तार भएको छ ।
प्रकृति संरक्षण कोषले सुरुमा उनको धागो कात्न दिएको सिपलाई बुद्धिमायाले अहिले उद्योगमा परिणत गर्नुभएको हो । पाँच लाख पुँजीबाट उद्योग सुरु गरेकी बुद्धिमाया अहिले तीन करोड रुपियाँको पुँजी बनाएको बताउनुहुन्छ । यसैको आम्दानीले छ कट्ठा जमिन र घर जोड्नुभएको छ ।
हस्तकलाको माग बढ्दै गएपछि वैदेशिक रोजगारीमा रहेका श्रीमान्लाई समेत बुद्धिमायाले स्वदेश फर्काउनुभयो । “साउदीमा श्रीमान्ले मासिक पाँच सय रियाल कमाउनुहुन्थ्यो । उद्योग राम्रो हँुदै जान थालेपछि उहाँलाई विदेशबाट फिर्ता बोलाएर व्यवस्थापकको जिम्मेवारी दिएँ,” उहाँले भन्नुभयो ।
चितवन उद्योग सङ्घका अध्यक्ष मदन घिमिरे बुद्धिमाया जस्ता महिला उद्यमीलाई सरकारले विशेष संरक्षण गर्नुपर्ने बताउनुहुन्छ । “नेपाली उत्पादनका वस्तु विदेश निर्यात गरेर जुन काम बुद्धिमायाले गर्नुभएको छ, यो देशकै लागि अनुकरणीय हो,” उहाँले भन्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)