ट्रम्पका ज्वाइँविरुद्ध अल्बानियामा किन भइरहेको छ प्रदर्शन ?
baahrakhari.com · Fri Jun 05 12:35:32 GMT 2026

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँविरुद्ध अल्बानियामा प्रदर्शन भएको छ । अल्बानियाको राजधानी तिरानामा ट्रम्पका ज्वाइँ जारेड कुश्नर र छोरी इभान्का ट्रम्प जोडिएको १.२ अर्ब डलरको पर्यटन परियोजनाविरुद्ध प्रदर्शन भएको हो ।
उक्त परियोजनाले संरक्षित वातावरणीय क्षेत्रलाई ठूलो क्षति पुर्याउने प्रदर्शनकारीहरूको भनाइ छ । विरोध बढ्दै गएपछि परियोजनामाथि छानबिन सुरु गरिएको छ ।
तिरानामा हजारौँको सहभागितामा लगातार चौथो दिन पनि विरोध प्रदर्शन भएको हो । यो परियोजनाले अल्बानियाको दक्षिणी तटमा अवस्थित संरक्षित ‘भ्ल्योसा–नार्टा’ क्षेत्रको वातावरणमा गम्भीर असर पार्ने प्रदर्शनकारीहरूको दाबी छ ।
योजनाअनुसार त्यहाँ विलासी होटलहरू तथा अन्य पर्यटकीय पूर्वाधार निर्माण गरिनेछ । प्रदर्शनमा सहभागीहरूले अल्बानियाका प्रधानमन्त्रीविरुद्ध पनि नाराबाजी गरेका थिए ।
दुई वर्षअघि परियोजनाको घोषणा गरिएको थियो । योजनाअनुसार ‘साजान आइल्यान्ड’लाई पनि पर्यटन केन्द्रका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ । यो टापु कम्युनिस्ट शासनकालमा गोप्य सैन्य अड्डाका रूपमा प्रयोग हुने गर्दथ्यो ।
समुद्र तटीय क्षेत्रमा बुलडोजर परिचालन गरिएको र निर्माण कार्यको तयारी भइरहेको देखिने भिडियोहरू सार्वजनिक भएका छन् । यसबाहेक, संरक्षित क्षेत्र नजिकै एक व्यक्तिलाई सुरक्षा गार्डहरूले कुटपिट गरेको घटनापछि विरोध प्रदर्शन झन् चर्किएको छ ।
प्रदर्शनकारीहरूले ‘स्ट्राटेजिक इन्भेष्टर एक्ट’ खारेज गर्न माग गरेका छन् । यो कानुन ठूला लगानीसम्बन्धी परियोजनाहरूलाई द्रूत रूपमा स्वीकृति दिन ल्याइएको थियो ।
#प्रदर्शन
#अल्बानिया
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)
काठमाडौँ
डोनाल्ड ट्रम्प