ताराखोलामा भिरमहको सिकार
gorkhapatraonline.com · Sun May 24 03:34:57 GMT 2026

बागलुङ, जेठ १० गते । जैविक गाउँपालिकाको पहिचान बनाएको पश्चिम बागलुङको ताराखोलाका सामुदायिक वनमा भिरमह काढ्न सुरु गरिएको छ । ताराखोला–५ मा पर्ने जुल्फे सामुदायिक वनमा भिरमह काढ्न सुरु गरिएको हो । सो वडाको ठुलोभिर र वडा नं. ३, हिलको गुफा सामुदायिक वनमा भिरमह काढ्ने तयारी भइरहेको छ । दुई याममा मह पाइने भए पनि प्रायः वर्षको एक पटक मात्र मह काढ्ने गरिन्छ । जुल्फे सामुदायिक वनको तारेभिरमा रहेका १३ घारबाट यस वर्ष ६० लिटर मह काढिएको उपभोक्ता समूहका सचिव नारायण घर्तीले बताउनुभयो ।
यस वर्ष मह उत्पादन घटेको घर्तीको भनाइ छ । गत वर्ष जुल्फे र ठुलोभिरमा २६० लिटर मह काढिएको थियो । घर्तीले भन्नुभयो, “मौसम परिवर्तनको असर भिरमौरीमा देखिँदा बर्सेनि उत्पादन घट्दै गएको छ ।” डिभिजन वन कार्यालय बागलुङका प्रमुख सरोज पन्थी भने लामो समयको अन्तरालमा मह उत्पादन बढ्ने र घट्ने भएमा जलवायु परिवर्तनको असर भन्न सकिने बताउनुहुन्छ । मौरीलाई मह बनाउन आवश्यक पर्ने पानी अनुकूल समयमा नपर्ने र फूल नफुल्दा पनि मह उत्पादन घट्न सक्ने पन्थीको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)