मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

२८ वर्षपछि पुनरागमन गरेको नर्वेको शानदार जित

onlinekhabar.com · Wed Jun 17 00:09:50 GMT 2026

३ असार, काठमाडौं । २८ वर्षपछि पुनरागमन गरेको नर्वेले फिफा विश्वकप–२०२६ मा विजयी सुरुवात गरेको छ ।

अमेरिकाको बोस्टन स्टेडियममा बुधबार बिहान भएको खेलमा नर्वेले इराकलाई ४–१ गोलअन्तरले पराजित गर्‍यो ।

नर्वेको जितमा एर्लिङ हाल्याण्डले दुई र लियो ओस्टिगार्डले एक गोल गर्दा एक गोल उपहार पायो । इराकका आयमन हुसेनले सान्त्वना गोल गरे ।

हाल्याण्डले खेलको २९औं मिनेटमा गोल गर्दै नर्वेलाई अग्रता दिलाएका थिए । त्यसको १० मिनेटपछि इराकका हुसेनले गोल गर्दै खेल बराबरीमा फर्काए ।

खेलको ४३औं मिनेटमा हाल्याण्डले व्यक्तिगत दोस्रो गोल गर्दै नर्वेलाई दोस्रोपटक अग्रतामा पुर्‍याए । ७६औं मिनेटमा नर्वेका लियोले हेडमार्फत गोल गर्दै अग्रताको दुरी बढाए ।

दोस्रो हाफको इन्जुरी समयमा आत्मघाती गोल हुँदा नर्वेले ४–१ को जित दर्ता गर्‍यो । अन्तिम समयमा इराकका हुसेनले प्रहार गरेको बलमा आफ्नो गोलपोष्टमा छिरेपछि नर्वेले एक गोल उपहार पाएको हो ।

यो जितसँगै नर्वे ३ अंकसहित समूह ‘आई’ को शीर्ष स्थानमा छ । समान ३ अंक रहेको फ्रान्स गोलअन्तरका आधारमा दोस्रो स्थानमा छ । पहिलो खेलमा हार बेहोरेका सेनेगल र इराक अंकविहीन छन् ।

नर्वेले पछिल्लोपटक सन् १९९८ मा विश्वकप खेलेको थियो । उक्त विश्वकपमा अन्तिम–१६ सम्म पुगेको नर्वे त्यसपछि छनोट हुन सकेको थिएन ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)

सम्बन्धित विषय